Mero Chitwan
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता

इतिहासभन्दा पनि अहिलेको अवस्थाको कुरा गरौं ।

नेपाली पत्रकारिता र सञ्चार उद्योग यतिखेर इतिहासकै गम्भीर मोडमा आइपुगेको छ । एकातिर देशको ओरालो लागेको अर्थतन्त्रका कारण ठूला–साना सबै सञ्चार माध्यम संकटबाट गुज्रिरहेका छन् भने अर्कोतिर पत्रकारिता क्षेत्रले विश्वासकै संकटको सामना गर्नुपरिरहेको छ ।

अनलाइन मिडियाको भीड र सामाजिक सञ्जाल तथा युट्युबजस्ता सामाजिक सञ्जालमार्फत् भ्युज तथा क्लिकको प्रतिस्पर्धामा छरपष्ट हुने सूचनाले कुन सही समाचार हो, कुन फेक हो भनेर छुट्याउनै गार्‍हो हुने अवस्था सिर्जना भएको छ । अझ सामाजिक सञ्जालको बढ्दो प्रभावले परम्परागत सञ्चारमाध्यमकै प्रभावकारिता फिक्का भइरहेको अवस्था जगजाहेर छ । विगतमा सीमित मात्रामा हुने सञ्चारमाध्यम र तिनमा कार्यरत पत्रकारको  रुचिअनुसार पत्रकारिता गरिने भए पनि अहिले पाठक, स्रोता तथा दर्शकको रुचिलाई नपछ्याई सुखै छैन । यस्तोमा, आचारसंहिता, व्यावसायिकता तथा विश्वसनीयतालाई कायम राख्दै पत्रकारितालाई अघि बढाउनु अहिलेको मुख्य चुनौती हो । साथै, देशको कानुन, सार्वभौमसत्ता, अखण्डता तथा सामाजिक सद्भावलाई खलबलिन नदिई पत्रकारिता गर्नु हाम्रो पेशागत धर्म हुनेछ । 

नेपाल प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन २०८० अनुसार आर्थिक वर्ष २०७९/८० सम्म ४०६१ अनलाइन सूचीकरण भएका छन् । अनलाइनको यो भीडमा हामी पनि मिसिन आइपुगेका छौं । देशका सार्वजनिक चासोका विषयबाहेक हाम्रो मुख्य प्राथमिकता चितवनको विकास हुनेछ । ‘हाम्रो चितवन : मेरो चितवन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी सामग्री पस्कनेछौं । 

विश्वास छ, यहाँहरुले माया गर्नुहुने नै छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update