
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्ध विराम सहमति भएको दाबी गरेका छन्। उनले इजिप्टमा भएको वार्ताका क्रममा दुव पक्षले अमरिकाद्वारा प्रस्तुत शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका हुन्। यसअनुसार बन्धकहरु सोमबारदेखि रिहाइ गर्ने तयारी गरिएको छ ।
“यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ,” ट्रम्पले बिहीबार बिहान आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन् । इजरायल र हमासबीच सोमबारदेखि इजिप्टमा वार्ता भइरहेको थियो ।
बुधबारको वार्तामा अमेरिकी बिशेष दुत र कतारी प्रधानमन्त्रीसहितको सहभागिता थियो । अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । वार्ता सफल भए लगत्तै ट्रम्प आउँदो केही दिनभित्र मध्यपूर्व यात्रा गर्ने तयारीमा छन् ।
इजरायल सरकारको मन्त्रिपरिषद्ले पहिलो चरणको योजनालाई बिहीबार पारित गरे लगत्तै युद्धविराम हुनेछ । इजरायली प्रधानमन्त्री वेञ्जामिन नेतान्याहुले इजरायलको लागि महत्वपूर्ण दिन भएको बताए । उनले चाँडै बन्धकहरू घर फर्किने अपेक्षा समेत गरे।
एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायली सरकारले स्थानीय समय करिब दिउँसो २ : ०० बजे युद्धविराम गर्न स्वीकृति जनाउनेछ ।