Mero Chitwan
रोमाञ्चक खेलमा नेपाल कतारविरुद्ध ५ रनले विजयी, अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय ५० विकेट पुरा

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले सुपर सिक्समा लगातार दोस्रो जित निकालेको छ । 

सोमबार भएको रोमाञ्चक खेलमा कतारलाई नेपालले अन्तिम ओभरमा ५ रनले पराजित गरेको हो ।  नेपालको जितमा सन्दीप लामिछानेको बलिङ उत्कृष्ट रह्यो । उनले आफ्नो चार ओभरमा मात्र १८ रन खर्चिँदै पाँच महत्त्वपूर्ण विकेट लिए । यस्तै नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 

कतारका दुई जना ब्याटरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ५८ रन बनाए । ४१ बलमा सात चौका र एक छक्का प्रहार गरे । 

यस्तै २२ खेलेका दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । गुल्शन झाले ८ बलमा १६ रन बनाउँदा सोमपाल कामीले ८ बलमै १४ र आशिफ शेखले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तरार्ष्ट्रिय क्रिकेटमा २ सय ५० विकेट पुरा गरेका छन् । उनी यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली बलरसमेत हुन् ।

आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत कतारविरुद्धको खेलमा सन्दीपले यो उपलब्धी हासिल गरेका हुन् । उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन् ।

सन्दीप नेपालका लागि टी-ट्वान्टी आई र ओडीआईमा सर्वाधिक विकेट लिने बलर समेत हुन् । टी-२० आईमा सन्दीपले ६५ खेलको समान इनिङ्समा १ सय २७ विकेट लिएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रियको ६२ खेलको ६० इनिङ्समा १ सय २७ विकेट लिएका छन् ।

हाल उनको नाममा २ सय ५४ अन्तर्राष्ट्रिय विकेट छ । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update