
काठमाडौं । जेन-जी आन्दोलनमा दमनकारी भूमिका निर्वाह गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध सहिद परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता नगरी उच्चस्तरीय न्यायिक आयोगमा पठाएको छ । प्रहरीले यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोगको हुने भएकाले त्यहाँ पठाइएको जनाइएको छ । भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षतिमा जिम्मेवारमाथि कारबाही गर्न भन्दै चार जनाका तर्फबाट जाहेरी परेको हो ।
प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र धेरै व्यक्तिको ज्यान जाने गरी भएको बल प्रयोगको घटना सामूहिक हत्या भन्दै जेन-जी प्रदर्शनकारीहरूले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर हिजै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले दर्ता गर्न मानेको थिएन ।
गृह मन्त्रालयले यसअघि भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश आयोगलाई रहेको भन्दै आयोगको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुन बमोजिम गर्ने जनाएको थियो।
यसैबीच नेकपा एमाले निकट अनेरास्ववियूले पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संयोजक सुदन गुरूङविरूद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएको छ । अनेरास्ववियूले प्रहरी हत्या र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा शाह र गुरुङको संलग्नता रहेको भन्दै जाहेरी दिएको हो । प्रहरीले जाहेरी दर्ता गर्ने या नगर्ने भन्ने निर्णय भोलिसम्म गर्ने भनेको छ ।