
आज जेठ १५, गणतन्त्र दिवस। २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी जननिर्वाचित प्रतिनिधिमार्फत् शासन गर्ने व्यवस्था गणतन्त्र स्थापना गरिएको थियो । गणतन्त्रलाई लोकतन्त्रको परिपक्व रूप मानिन्छ जहाँ सत्ताको केन्द्र जनताको इच्छा र अभिमत हुन्छ। तर आजको दिनमा हामीले उत्सव मनाउनुका साथै आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता झनै गहिरिएको छ।
गणतन्त्र स्थापनाको मुख्य उद्देश्य थियो—शासकीय सत्तालाई जनउत्तरदायी बनाउनु, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्नु, र जनतामा सम्मानित जीवनको अनुभूति गराउनु। तर वर्तमानमा प्रश्न उठ्न थालेका छन्—के यही हो गणतन्त्रको उपलब्धि ?
राजनीतिक नेताहरूको कार्यशैली, सत्तामोह र गैरजिम्मेवार व्यवहारले नागरिक आजित छन् । भ्रष्टाचार, पार्टीगत भागबण्डा, सुशासनको चरम अभाव, र न्याय प्रक्रियामा दलको हस्तक्षेपले आम जनतामा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको छ। जनताका सपना राजनीतिक गुटहरूको सौदाबाजीमा बिकेका छन्।
गणतन्त्र केवल व्यवस्थाको रूपान्तरण होइन, सोच र संस्कृतिको पनि परिवर्तन हो। तर नेताहरूमा यस्तो परिवर्तन देखिएको छैन। तिनै पुराना प्रवृत्तिहरू नयाँ नाममा पुनरावृत्त भइरहेका छन्। जब नेतृत्व नै अनुत्तरदायी हुन्छ, जनताको विश्वास कमजोर हुन्छ। विश्वासविना गणतन्त्रको आत्मा नै मरिहाल्छ।
यस अर्थमा, आजको गणतन्त्र दिवस केवल उत्सवको दिन होइन, नेताहरूका लागि आत्मसमीक्षा र आत्मशुद्धिको दिन हो। जनताको विश्वास पुनःस्थापना गर्न, उनीहरूले आफ्नो व्यवहार, सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनैपर्छ। गणतन्त्रको रक्षा केवल नाराबाट हुँदैन—यो आचरणबाट सिद्ध गर्नुपर्छ। जनताको अभिलाषा बुझेर, जनताको पीडा महसुस गरेर, र तीअनुसार नीतिगत तथा व्यवहारिक परिवर्तन गरेरमात्र नेतृत्वले आफ्नो उत्तरदायित्व पूरा गर्न सक्छ।
यसैले आजको सन्देश स्पष्ट छ—गणतन्त्रको विरोध होइन, तर यसको बदनाम गर्ने प्रवृत्तिको विरोध हो। नेताहरूले गणतन्त्रको मर्म बुझे, जनताको आवाज सुने, अनि मात्र यो व्यवस्था मजबुत बन्नेछ।