Mero Chitwan
के फरक छ सामान्य टाउको दुखाइ र माइग्रेनमा ?

सामान्यतः थकान, मानसिक दबाब र खानपानमा गडबडीजस्ता कारण टाउको दुख्ने गर्दछ । टाउको दुखाइ एक सामान्य समस्या हो, यो रुघादेखि लिएर अन्य कैयौं समस्याका कारण हुन सक्छ। 

तर माइग्रेन र टाउको दुखाइमा देखिने लक्षण लगभग समान हुन्छन् । धेरै पटक माइग्रेनका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ सम्झेर मानिसहरूले बेवास्ता गर्छन्। माइग्रेन पनि मानसिक तनाव, आहार र जीवनशैलीसम्बन्धी विकार र शारीरिक स्वास्थ्य अवस्थाका कारण हुने गम्भीर समस्या हो, तर यो टाउको दुखाइभन्दा धेरै फरक छ। माइग्रेन र टाउको दुखाइ बीचको भिन्नता र यसको पहिचानका विषयमा यहाँ उल्लेख गरिएको छ । 

 माइग्रेन सामान्यतया टाउको दुखाइको रूपमा देखा पर्दछ। यस रोगमा सधैं टाउकोको एक भागमा कडा दुख्ने समस्या हुन्छ। यसबाहेक माइग्रेनका बिरामीलाई उज्यालो वा चर्को आवाजले पनि समस्या हुन सक्छ। माइग्रेनका कारण हुने टाउको दुखाइ गम्भीर र तीव्र हुने भएकाले यसका कारण बिरामीले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ ।

१. माइग्रेनमा हुने टाउको दुखाइ सामान्यतया टाउको वा निधारको आधा भागमा हुन्छ। यसमा टाउको दुखाइ धेरै हुने र बेला–बेलामा चड्कने हुन्छ । जबकि सामान्य रुपमा टाउको दुख्दा टाउकोको सम्पूर्ण भाग दुख्छ र लगातार हुन्छ।

२. माइग्रेन टाउको दुखाइका कारण, हिडडुल गर्न र हातले छुँदासमेत दुख्ने हुन्छ । तर, सामान्य टाउको दुखेको अवस्थामा थिच्दा आराम मिल्छ । 

३. माइग्रेनका कारण हुने टाउको दुखाइमा, वरपर कुनै पनि आवाज आउँदा पनि टाउको दुख्ने हुन्छ । जबकि सामान्य टाउको दुखाइमा यस्तो हुँदैन।

४. माइग्रेनमा टाउको दुखाइ बाहेक, बिरामीलाई बान्ता हुने, वाकवाकी र चक्कर लाग्न सक्छ। सामान्य टाउको दुखाइमा यी लक्षणहरू प्रायः देखिँदैनन्।

५. माइग्रेनका कारण हुने टाउको दुखाई बढ्दै जान्छ । सामान्य टाउको दुखाइमा बिरामीको दुखाइ केही समयपछि कम हुन थाल्छ।

सामान्य कारणले गर्दा हुने टाउको दुखाइ आफैं हट्न सक्छ। तर माइग्रेन टाउको दुखाइका लागि ध्यान, योग र औषधिहरू चाहिन्छ। कहिलेकाहीँ खानपानमा गडबडी, एसिडिटी र पेट खराब भएर पनि टाउको दुख्ने गर्छ । यस्तो अवस्थामा भने यी समस्या समाधान भएपछि टाउको दुखाइ पनि आफैं निको हुन्छ।

माइग्रेनको समस्या हुँदा जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्छ । माइग्रेनको समस्या भएका बिरामीलाई निद्राको कमीले झनै समस्या पार्ने भएकाले चिकित्सकले निद्रालाई विशेष ध्यान दिन पनि सल्लाह दिन्छन् ।

(नोट : यहाँ दिइएको सामग्री जानकारीका लागि मात्र हो, स्वास्थ्य समस्या समाधानका लागि सम्बन्धित चिकित्सकको सहयोग लिनुहोला)
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update