Mero Chitwan
कस्तो रंगले छालालाई बढी असर पार्छ ? होली खेल्नुअघि र पछि के कुरामा ध्यान दिने ? 

काठमाडौं– रंगहरुको पर्व होली आज र भोलि देशभर मनाइँदैछ । तर, होलीको रंगले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नुभएको छ ?

होलीमा रंग दल्नुअघि छालाको सुरक्षामा ध्यान नदिँदा चिकित्सककहाँ पुग्नुपर्ने अवस्थासमेत आउनसक्छ। रंगको असर छाला, आँखा, नाक, कान र भित्रि अंगैसम्म पुगेर समस्या निम्तने गरेको चिकित्सकहरुको भनाइ छ ।

यो समय चिसो सकिएर विस्तारै गर्मी मौसम सुरु हुने समय हो । यस्तो बेला मौसम परिवर्तनका कारण शरीरको छालामा पनि परिवर्तन भई छाला सुख्खा भइरहेको हुन्छ। यो समयमा सम्पूर्ण शरीर, अनुहार तथा कपालका रौं पनि सुख्खा  भएको हुन्छ। सुख्खा छाला तथा कपाल हुँदा एलर्जीको सम्भावना बढ्छ।

होली खेल्दा आजभोलि विभिन्न रसायनयुक्त रंगहरुको प्रयोग गरिन्छ। यस्ता रंगमा विभिन्न धातुको धेरै प्रयोग हुन्छ। जस्तो रातो रंगमा मर्करी हुन्छ, कालोमा लिड अक्साइड हुन्छ, हरियोमा मालाटाइस ग्रिन हुन्छ, सिल्भर रंगमा आल्मोनियमको धातु प्रयोग गरिएको हुन्छ।

विभिन्न किसिमका केमिकल प्रयोग गरिएको रंगले एलर्जी गराउँछ।

केमिकल प्रयोग भएको रंगले छालामा मात्र होइन, आँखाको एलर्जी हुने, नाकभित्र  एलर्जी भएर रंग नाकबाट भित्रि भागमा पुगेर फोक्सोमा संक्रमण हुने, दम बढ्ने समस्यासमेत निम्तिन सक्छ।

त्यसैले होलीमा कस्तो रंग खरिद तथा प्रयोग गर्ने भन्नेबारे नै सचेत हुनुपर्छ। साथै, आफ्ना बालबच्चालाई होली खेल्न दिइने रंगबारे सचेत हुनुपर्छ।

सम्भव भएसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ। होलीमा रंगसँग खेल्दा सकेसम्म पानीमा भिजेको भन्दापनि सुख्खा रंग प्रयोग गरेको राम्रो हुन्छ । 

सुख्खा रंग पनि दुई किसिमको हुन्छ। एउटा पाउडर, अर्को अबिर। पाउडरको रुपमा रहेको रंग हातमा लिँदा खस्रो हुँदैन। अबिर भने दुईवटा औलाले छाम्दा बालुवाजस्तो हुन्छ। यो बालुवाजस्तो रंगको प्रयोगले एलर्जी बढाउँछ।

छालामा यस्तो रंग लगाउदा छाला पास्छ र ब्याक्टेरिया तथा फंगसको संक्रमण हुनसक्छ । अबिर किन्दा हेरेर खस्रो नभएको रंग किन्नुपर्छ।

विशेषगरी, रातो र पहेंलो सुरक्षित मानिन्छ। तर कालो, निलो, हरियो रंगले बढी एलर्जी गराउन सक्छ। पानीमा घोलेर प्रयोग गरिने रंगहरु सकेसम्म प्रयोग नगर्दा राम्रो हुन्छ। सुख्खा रंग जहाँ लगाएको हो त्यहीँ बस्छ। तर पानीमा मिसाएर लगाएको रंग शरीरभर लाग्नसक्छ। शरीरको कुनै भागमा घाउ छ भने त्यसमा झनै असर गर्न सक्छ।

छालामा पहिलादेखी नै घाउ, दाद वा एलर्जी, डन्डीफोहोर छ भने त्यहा रंग बस्छ र पहिलादेखि रहेको समस्या झन् बल्झन सक्छ। त्यसैले रंग ल्याउदा नै पाउडर रंगको प्रयोग गर्नुपर्छ । 

सावधानी के अपनाउने ? 
होली खेल्नुभन्दा अघिल्लो दिन नै शरीर तथा अनुहारमा नरिवलको तेल लगाउनु पर्छ। होली खेल्ने दिन बिहान पनि शरीरमा तेल लगाउने, अनुहारमा मोस्चराइजर वा तेल लगाउने, आँखामा चस्मा लगाउने गर्नुपर्छ।  खेल्नुअघि तेल लगाउदा सुख्खा छालालाई नरम बनाउँछ र शरीरमा सुख्खापनले परेको चिरालाई पुर्छ।

यस्तै, होली खेल्दा फुल बाहुला भएको कपडा लगाउनुपर्छ।  कहिलेकाँही सावधानी अपनाएर होली खेल्दा पनि शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्नसक्छ। प्रत्यक्ष रुपमा देखिने असर भनेको एलर्जी हुनु हो। शरीर सुख्खा वा ड्यामेज छ भने रंग छालाको भित्रि भागसम्म पुग्नसक्छ र एलर्जी हुनसक्छ। एलर्जी हुँदा सुरुमा चिलाउने वा पोल्ने हुनसक्छ र विस्तारै पाक्ने, घाउखटिरा आउनसक्छ। 

होली खेलेपछि साबुनले मुख धुने बानी धेरैको हुनसक्छ। रंग नजाँदा कतिपयले रगडेर मुख धुने कोसिस गर्छन्। यस्तो गर्दा शरीरमा झनै एलर्जी बढ्छ।

सकेसम्म होलीमा रंग खेलिसकेपछि पानीले मात्र पखाल्नुपर्छ। पाउडर रंग खेल्दा पानीले पखाल्दा सजिलै जानसक्छ। तर पहिला नै पानी मिसाएर लगाएको रंग भने नजान सक्छ।

पानीले पखाल्दा रंग नगएमा नरम खालको साबुन वा क्लिन्जरले मुख धुन सकिन्छ।

आँखामा रंग पर्दा आँखा रातो हुनसक्छ। त्यसैले आँखामा रंग परेमा तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्छ। कहिलेकाँही नाकभित्र रंग पस्दा भित्रसम्म रंग परेर एलर्जी भइ रुघाखोकी समेत लाग्नसक्छ। नाकभित्रबाट छातीसम्म रंग पुगेमा फोक्सोमा संक्रमण हुने दम बढ्ने समस्या समेत हुनसक्छ। त्यसैले होली खेल्दा सावधानी अपनाउनुपर्छ।

अर्को अप्रत्यक्ष असर भनेको जसलाई पहिलादेखि नै छालामा समस्याहरु छन्। उनीहरुको समस्या झनै बढ्नसक्छ। जस्तै कपाल झर्ने समस्या, डन्डीफोर, घामको एलर्जी, चायापोतो, कत्ले रोगको समस्या छ भने पनि समस्या झनै बढ्न सक्छ।

त्यसैले यी समस्या छ भने समयमै नियमित उपचार गर्नुपर्छ र यस्ता समस्या भएकाहरले होली खेल्दा नै ध्यान दिनुपर्छ।

होली खेलेको रंग २ घण्टा भन्दा बढी राखिराख्नु हुँदैन। पानीले पखाल्नुपर्छ। होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। 

नोट : यो जानकारी हो, स्वास्थ्यसम्बन्धी कुनै समस्या समाधानका लागि सम्बन्धित चिकित्सकको सल्लाह लिनुहोला । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update