Mero Chitwan
उड्दाउड्दै बादलमाथि

मौसमलाई पनि आजै रहेछ बिग्रिनु परेको । हिजोसम्म दिनभरि चम्किलो घाम लागेर न्यानो थियो वातावरण । आज भने बिहानैदेखि घेरेको छ टम्म हुस्सुले । मैले नै यात्रा आरम्भ गर्ने दिनमा बिग्रिनु परेको रहेछ यो मौसमलाई पनि । हुन त तराईमा पुसको महिनामा हुस्सु नलागेर जेठको महिनामा लाग्ने कुरा पनि भएन । पुस,माघका महिनामा एक डेढ महिनासम्म हुस्सु लागेर घामको दर्शन नै नगरी  जाडोयाम बिदा भएर गएका अनभुव पनि थुप्रै छन् । धन्न यो पाली पुसको दोस्रो हप्तासम्म घाम लागिरहेर न्यानै थियो मौसम । १२ गते आएपछि भने आफ्नो रङ् देखाइहाल्यो पुसको जाडोले । 

विगतका वर्ष जस्तै भएर आयो २०७९ सालको जाडो पनि । मध्य पुसमा एकाएक बिग्रेको यस्तो प्रतिकुल मौसममा मैले यात्रामा नगैदिए हुन्थ्यो भन्ने भाव बोलिरहेका छन् बुनुका आँखाले । उनका ओंठ भने चुपचाप छन् । उनले बोल्न नसक्नुको अर्थ ‘मैले जति भने पनि यो गै हाल्छ’ भनेर नै होला कदाचित् । म पनि कसैलाई आउँछु भनेर वाचा गरिसकेपछि र आफूले कतै यात्रामा जान्छु भनेर निर्णय गरिसकेपछि बुनुले रोक्न खोजे पनि हिडिहाल्छु । आफ्नी जीवन सहयात्रीले रोक्न नसकेको मान्छेलाई मौसमले छेक्न सक्ने झन् कुरै भएन ।

हिडिहालें आज पनि ।

आज हिड्ने निहुँ बन्यो कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा गरिन लागेको साहित्यिक पदयात्रा । अथवा यसरी भनौं सागर कुश्मीभाइको पहुनी खान । ‘डाडु जैसीक फेन आइना हो इ बेरी ट’ (दाजु जसरी पनि आउनुपर्छ यो पटक त) निकै मायालु पाराले धेरै चोटि निम्तो दिएका छन् भाइले ।

आज मसँगको यात्रामा सहभागी हुन सुर्खेतबाट दौडिदै आइपुगेका छन् ललित खत्री भाइ पनि । बुनुले पकाएको तातो भात टिपेर हिडिहाल्यौं हामी । हाम्रो तेस्रो साथी बन्यो भे ५ प ५२३७ न.को हिरो मोटरसाइकल । घडीमा बिहानको एघार बजेको छ, तर वातावरणले अझैं सूर्योदय नभैसकेको बिहानको भोरजस्तो गराइरहेको छ आभास । 

नेपालगंजबाट ३४ किलोमिटर कुदेर गुलरिया पुगुञ्जेल हुस्सुले हामीलाई जिस्क्याइरह्यो । वरपरको भूभाग र बाटो राम्ररी नदेखिएपछि मोटरसाइकलको गति पनि बढाउन सकिएन । चिसो स्याँठबाट आँखालाई जोगाउन हेलमेटको सिसा लगाउँ भने सिसाभरि हुस्सु थुप्रिएर केही पनि नदेखिने भयो । सिसा आँखाभन्दा माथि सारौं भने चिसोको प्रहारले आँखामैं हानेर गाह्रो हुन लाग्यो । ओठ त मास्कले जोगिएकै छन् तर शरीरको अगाडिका कपडा भने हुस्सुको चिस्यानले भिजिसकेका छन् पुरै । 

गुलरियाभन्दा अगाडि बढेपछि हुस्सुसंग मिसिएको शीतको प्रकोप अलि सुस्ताएजस्तो त भयो तर बाक्लो फुस्फुसे हुस्सुले ढाकेकै छ बाटो । सूर्यनारायण उदाङ्गीन अझैं लाज मानिरहेकै छन् । उस्तै छ चिसोचिसोको अनुभूति । तुलापुर चोकमा चिया पिएर ततायौ शरीरलाई । खैरापुरनिर पुगेपछि उर्लिन थालिहाले कृष्णसार हेर्ने रहरका छाल । एक झल्को कृष्णसारतिर नलगाई अघि बढ्न मान्दैमानेन मनले । ललितभाइका लागि कृष्णसारको यो पहिलो दर्शन हो । म भने अनेकौं पटक आएको छु तर कृष्णसारले दुबो चरेको, उफ्रेर र कुदेको र रासलीला गरेका दृश्यहरुले सधैं रोमाञ्चकता पस्किरहेकै हुन्छन् यी आँखावरिपरि । तर आज भने कृष्णसार पनि कतै लुकेका छन् हुस्सुको बगैंचाभित्र ।

टाढैबाट एकदुई ओटा कृष्णसारमात्रै चित्त बुझाउनु पर्‍यो आज ।

‘मृग र जरायोजस्तै हुँदारहेछन्’ ललितभाइको टिप्पणी आएपछि फर्कियौं त्यहाँबाट हामी । समात्यौं आफ्नै गन्तव्यतर्फ तन्किएको बाटो । भरखरै पिच भएको फराकिलोे छ बाटो । हुस्सुमा डुबेका वरपरका दृश्य त के आफू कुदिरहेको बाटो समेत ठम्याउन सकिएको छैन । लाग्दैछ, घना बादलले ढाकेको आकाशमाथि बेतोडले उडिरहेका वायुपंखी घोडा हौं हामी । उड्दैउड्दै बादलमाथि कतै बादलकै देशतिर त गैरहेका छैनौं ! कल्पना पनि कस्ताकस्ता गरिरहेको छ मनले । धार्मिकथामा पढिने र धार्मिक फिल्ममा देखिने दृश्यहरु आज आफैमा साकार भएजस्तो भान पर्दैछ । गाडीले आएर ड्याम्मै ठोकिदिएपछि के होला? रोमाञ्चकताको अगाडि डर पनि नलाग्ने रहेछ !

तारातालको क्षेत्रमा कुदिरहेको जनाउ दिइरहेका छन् कतैकतै सडक छेउ ठडिएका कोशेढुङ्गाले । कतैकतै हुस्सुले  कोशेढुङ्गाहरु पनि राम्ररी देखिएनन् । कतै देखेर पनि पढ्न सकिएनन् । अँध्यारोमा छामेर बाटो पहिल्याएजस्तै भएको छ हाम्रो यो यात्रा । आँखा भएरमात्रै के गर्नु बाटो नै राम्ररी हेर्न नसकिएपछि ।

कुसुम्बा चोक र लालीबजार छिचोलेर एकैछिनमा पुगिहाल्यौं माचड । बेलवा चोक भनेर चिनिन्छ अचेल यो । उत्तरतिर पूर्वपश्चिम राजमार्गमा पर्ने भुरीगाउँसम्म जाने बाटो छुट्टिन्छ यहींबाट । अलि माथितिर भर्खरै पदमुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली पनि छ रे ! तर प्रधानमन्त्रीको सुसुराली गाउँजस्तो भौतिक विकासको कुनै विशेष झलक देखिन्न यहाँ केही पनि । हुलाकी सडकमा जुर्मुराउन लागेका अन्य ससाना चोक बजारजस्तै छ माचड पनि । 

ललितभाइलाई सुनाएँ केही नाम-भज्जागौडी, लग्दहवा, चाचरफर्का, जाफरपुर्वा, हल्बल्डोली, जुगुन्भरिया, चपरगौडी, छपरतल्ली आदिआदि

अघिसम्म फाटो खिच्नु हाम्रो ध्यानमा आएकै थिएन । गमक्कानिर पुगेपछि भने छल्किहाल्यो ललितभाइको फोटो खिच्ने रहर । गमक्काको अनौठो नामले लोभ्याइहाल्यो उनलाई । उनी गमक्क परेर उभिए मैले खिचिदिएँ फोटो । अनि म पनि परेँ गमक्क र खिचिदिए उनले । यस्ता अनौठा र रमाइला खाले थुप्रै नामहरु छन् बाँकेबर्दियामा गाउँहरुका । ललितभाइलाई सुनाएँ केही नामहरु— भज्जागौडी, लग्दहवा, चाचरफर्का, जाफरपुर्वा, हल्बल्डोली, जुगुन्भरिया, चपरगौडी, छपरतल्ली आदिआदि । 

गमक्काबाट अघि बढेपछि आरम्भ भो वनक्षेत्र । यो वन भारतको वन र बर्दिया आरक्षसंग पनि जोडिएकोले वन्यजन्तुहरुले ओहोरदोहोर गरिहन्छन् यहाँबाट । बेलाबेलामा हात्ती र बाघहरु पनि देखिन्छन् रे । हात्तीले बालीनाली नाश गरे पनि बाघले घरपालुवा पशुहरु खाइदिन्छ । कहिलेकाहीं मानविय क्षति पनि गरिदिन्छ । गमक्काको वनमा बाघ लाग्छ भनेर सुनाउँदा पनि रोक्न सकिएन ललितभाइको फोटो खिच्ने रहरलाई । वन, सडक र दुरी लेखिएको शिलालेखलाई क्यानभासमा पारेर खिच्यौं थुप्रै फोटो । 

‘बाघ देखिए त उसंग पनि फोटो खिच्न हुन्थ्यो सर’ हँसाइरहे ललितभाइले ।

taratal-1708742520.jpg
बर्दिया

घना वनको माझमा आयो टुक्रुक्क परेर बसेको ओराली बजार । दाहिनेपट्टि छुट्टियो ठाकुरद्वारा जाने बाटो । हामी दौडिदै खाता पुग्यौं । कुनै समयको चर्चित ठाउँ हो खाता । अचेल ओराली बजार उकालो चढ्न थालेपछि खाताको अर्थतन्त्रको खाता ओरालो लागिरहेको छ । एकुन्ताका टाइटानिक फिल्मका हिरो डिकाप्रियो घुम्न आएको ठाउँ भनेर निकै चर्चित पनि भएको थियो खाता । बाघ लाग्न थालेपछि त अचेल खाताले पर्यटकीय आकर्षण बढाउने खातापाता बन्द गरेजस्तो छ । 

खाताभन्दा अगाडिको वन पनि निकै मिलेको र सुन्दर देखिन्छ तर बाटो वरपर प्लास्टिक र फोहोर फालेर प्रदुषित भएको छ वन्य वातावरण । वन क्षेत्रको शोभालाई बिथोल्ने गरि यहाँ आएर फोहोर गरिदिने मान्छेहरु को होलान् ती? फोहोर फाल्दै गरेको देख्न पाए त बेस्सरी गाली गर्ने थिएँ म त, यति सुन्दर हरितिमा परिवेशलाई फोहोर पारेको भनेर ।

म यो बाटो अनेक पटक हिडेको छु । यहाँका रुख, बिरुवा, खेत, खलिहान र भवन, सडकहरु सबै परिचित जस्ता लाग्छन् मलाई । बाटोमा हिडिरहनेहरुलाई उनीहरुले चिनिरहन नसक्लान् तर बाटोमा हिडिरहनेहरुको लागि भने यतातिरका सबै कुरा परिचितजस्तै हुन्छन् । ललितभाइको लागि भने यहाँका सबै दृश्य नयाँ छन् । त्यही भएर हुस्सुले चश्माभरि सेतो थुपारेर हेर्न गाह्रो भइरहे पनि उनका आँखा भने कुतुकमय दृष्टि फ्याँकिरहेका छन् बाटो वरपर । मलाई मोटरसाइकल चलाउनुको साथसाथै ललित भाइको निम्ति खेल्नु परिरहेको छ गाइडको भूमिका पनि ।

खाताको वन्यक्षेत्र काटेपछि पुग्यौं कोठियाघाटको डिलमा । यहाँ पुग्दा हुस्सु अलिअलि फाटेजस्तो भयो । हावा भने चिसोचिसो नै चलिरहेको छ । नेपालको सबैभन्दा लामो मानिने गेरुवाको पुल लमतन्न परेर सुतेको छ हाम्रा आँखा अगाडि । जहाँसम्म दृष्टि पुग्छन् त्यहीसम्मै तन्केको देखिन्छ सेतो पुल । पुलभन्दा पनि लामो भएर छरियो हाम्रो कुतुहल हेराई । पुल देखिने दृश्यभन्दा पनि परपरसम्म पुगे आँखा । वल्लो छेउ र पल्लो छेउको झल्याकझुलुकमा हल्लिरह्यो हेराई । जति पटक आए पनि यसैगरि लोभिन्छन् हेराई । उही दृश्यले पनि अनेक बिम्ब छरिरहन्छ भनेको हो रहेछ ।

पुलको मुन्तिर बगिरहेको छ गेरुवाको निलो पानी आफ्नै लयमा । कुनै समय यो नदीमा डुङ्गा तरेर पनि पुगेको छु राजापुरसम्म । पुलमुन्तिर बगिरहेका छन् गेरुवाका अनेकौं भँगाला । वल्लो छेउबाट पल्लो छेउ देखिन्न पुलको । एक किलोमिटर पन्ध्र मिटर लामो छ यो पुल । पुलको मुन्तिर उभिएका अग्लाअग्ला रुख पनि पुलबाट हेर्दा ससाना झाडीजस्ता लाग्छन् । पुलको मध्यभागमा उभिदा त यो नदीमाथि बनेको पुल नभएर वनमाथि बनेको आकाशेपुल हो कि जस्तो पनि लाग्छ । ललितभाइको प्रथम आगमन भएकोले सम्पन्न गरियो फोटो खिच्ने काम पनि । पर गेरुवाको बगरमा माछा मारिरहेका मान्छे देखिए । यस्तो चिसो मौसममा, चिसो पानीमा खुट्टा डुबाएर कसरी सकेका होलान् माछा मार्न? देख्दै मेरो त जिउभरि चिसो तरङ् फैलियो ।

एकोहोरो चिसो स्याँठ चलिरह्यो गेरुवाको पुलमाथि अलमल गरुञ्जेल । जिउ तताउन चिया पिउनु प¥यो भनेर हामी पारिपट्टिको होटलमा पस्यौं । एकजोडी महिला र पुरुष आगो ताप्दै थिए । 

‘लौ न साहुज्यू जिउ तताउनु पर्‍यो’ बस्न नपाउँदै भनिहाले ललितभाइले ।

‘के ल्याउँ’ साहुको साटो साहुनी बोलिन् । 

‘कालै पिउँ’ मैले भनें ।

साहुनीले एकैछिनमा एक बोतल ब्ल्याकलेबल ल्याएर हाम्रो टेबुलमाथि राखिदिइन् । हामी हेरेको हे¥यै भयौं । हामी त चिया पिउन भनेर त्यहाँ पसेका थियौं ।

‘यो हैन साहुनी ! हामीले त तातो चिया भनेको’ मैले यसो भनेपछि अँध्यारो मुख लगाएर ‘चिया त पाइन्न’ भन्दै उनी त्यो बोतल लिएर भित्र गइन् । चिया पिउने रहर पुरा भएन हाम्रो ।  हामीले पनि एकछिन उनीहरुसंगै आगो ताप्यौं । साुहनीको नाम खम्मी घर्तीमगर रहेछ । उनका पति वीरबहादुर चौधरी रहेछन् । अन्तरजातीय प्रेम विवाह गरेर सानो पसलबाट व्यापार आरम्भ गरेका त्यो जोडीले अहिले यत्रो पक्की घर पनि बनाइसकेका रहेछन् । गेरुवा पारिपट्टिका होटलहरुमा सबैभन्दा ठूलो होटल उनीहरुकै छ ।

हामी भँवरा तप्पाको फराकिलो सडकमाथि कुद्न थाल्यौं । वरपर गहुँ छरिएका हरिया फाँटहरु र पहेंलपुर फुलेको तोरीले पहेंला देखिने बारीहरुको दृश्यले शोभायमान छ परिवेश । मंगलपुर, मानपुर, भोगपुर, ओस्ताजपुर, जोगीपुर, धोबिनपुर, शान्तिपुर नाम गरेका ठाउँहरु आफूलाई चोक र बजारमा रुपान्तरण गर्न प्रतिष्पर्धा गरिरहेका छन् । धोबिनपुरको नामले श्रमजीवी वर्गको सम्मान गरेको बुझिन्छ तर जोगीपुर भने त्यति शुद्ध नाम हैन । योगीहरुलाई मान्छेले जिस्क्याएर, हेपेर जोगी भन्छन् । कतैकतै ‘य’ को उच्चारण गर्न नसकेर ‘ज’ पनि भन्छन् । यसरी बिग्रेको उच्चारण अनुसार ठाउँको नाम नराखेर शुद्ध नै राख्नु पर्ने हो । जोगीपुरलाई योगीपुर नै भन्दा न्यायसङ्गत हुन्थ्यो । बिग्रेकोलाई सपार्नुभन्दा जनजिब्रोको शब्द भनेर जस्ताको त्यस्तै राखेका होलान् सके त ।

एकैछिनमा पुगिहाल्यौं राजापुर । स्वर्गीय कवि प्रकाश राजापुरीको ठाउँ हो यो । पाँच भाषाका सिद्धहस्त कवि मिट्ठनलाल गुप्ताले आफ्नो जन्मभूमिलाई जोडेर आफ्नो उपनाम नै राखेका थिए प्रकाश राजापुरी । कुनै समय पश्चिम नेपालको नुन किन्ने प्रमुख बजारको रुपमा विख्यात थियो यो । पूर्व प्रधानन्यायाधीश धनेन्द्रबहादुर सिंहको गाउँ पनि हो यो । यहाँको गणेश मन्दिरको महिमा पुगेको छ निकै परपरसम्म । नेपालगंजबाट यहाँसम्म पुग्न ७२ किलोमिटर कुदिएछ । भेट्न त मित्र जेवी अनुरागीलाई पनि भेट्न मन लागेको हो । तर उहाँको घरमा श्राद्ध भएकोले वाधा पु¥याउन मन लागेन । भोलि त भेट्नै छ उहाँलाई ।

बजारभित्र नपसेर हामी देब्रेदेब्रे हुँदै पश्चिमपश्चिम लाग्यौं । कर्णालीको भूक्षय रोक्न गरिएको वृक्षारोपणले यहाँनिर राम्रैगरि हुर्किएको छ वन । राजापुरलाई हरियो शोभा दिने काम गरेको छ यस वनले । तर सडक वरपर फोहोर फालेर दर्गन्धित भैसकेको छ यो ठाउँ । अघिल्लो पटक यहाँ आउँदा यस्तो फोहोर थिएन । यस पटक निकै फोहोर लाग्यो । यही रुपमा फोहोर हुँदै जाने हो भने यो वन राजापुरको डम्पिङ् साइट नै होलाजस्तो छ ।

एकैछिनमा पुगिहाल्याौ सतीघाट । कर्णालीको पश्चिमी हाँगो हो सतीघाट । यहाँ बनेको पुलले कर्णाली वारिपारिका डिलहरुलाई मात्र हैन कैलाली र बर्दिया जिल्लालाई पनि जोड्छ । उहिले भेरी र सेती अञ्चललाई जोड्थ्यो अचेल लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशलाई जोड्छ । उहिले नदीले वारिपारिका भूभागहरुलाई छुट्टयाउँथ्यो । अचेल पुल बनेपछि जोडिएका छन् वारिपारिका भूभाग । अनेक पटक फेरिए वारिपारिका भुभागहरुका नाम पनि । चिनारी फेरिए, कथा फेरिए ।

satighat-1708742661.jpg
सतीघाट

नदीमा पुल बनेर तटबन्ध पनि बने तर नदीको वेग र बगाई भने उस्तै छ । कुनै समय कुनै राज्यकी रानीे सती गएकोले सतीघाट नाम रहेको यो घाट अचेल माछा मार्नेहरु र नदीबाट बालुवा झिक्नेहरुको थलो बनेको छ । २०६७ सालको वैशाख महिनामा प्रकाश राजापुरीको पञ्च भौतिक शरीर पञ्चतत्वमा विलिन भएको दृश्य टोलाएर हेरेको थिएँ मैले यही नदीको बगरमा उभिएर । उहाँको स्मृति बिम्व छातीभित्र सलबलाउन थाल्यो आज पनि । मनमनै चढाएँ श्रद्धाका सुमन ।

कोठियाघाटमा हेरेको कर्णालीभन्दा सतीघाटमा देखिएको कर्णाली ठूलो रहेछ । पानीको नीलो रङ् र आयतन पनि बढी नै छ । तर नदीको बगर भने गेरुवाकै हो फराकिलो । उताको बगरमा छुट्टै मादकता थियो । यहाँको बगर भने केही उदासउदास लाग्यो । बगर वरपरका क्षतविक्षत दृश्यले यसको रौद्ररुप वर्षातमा कस्तो हुँदो हो? थोरै अनुमान गरिहाल्यो यो मनले । कुनै बलात्कृत युवतिको क्लान्त मनोदशाजस्तै देखिन्छ सतीघाटको उदासी पनि । पुल पनि गेरुवाको हेरेर यो सानै हो । सानो पुलमा पुगेपछि हामीले पनि आफ्नो मनलाई पनि सानै बनायौं । ओर्लिएर हेर्ने जाँगर पलाएन । बरु मुटुमैं पुगेर काउकुती लगाइरह्यो चिसो स्याँठले ।

गेरुवा कर्णाली नदीको पूर्वी हाँगोलाई भनिन्छ । पश्चिमी हाँगोको नाम कोर्‍यार हो । कोर्‍यार, कौरियार हुँदै कौडियाल बन्यो र कौडियालबाट कौडियाला हुँदै सतीघाट भैसक्यो अचेल । कौडिन्य ऋषिले यही नदीको बगरमा बसेर तपस्या गरेका थिए भनेर पनि भन्छन् कोहीकोही । कोर्‍यारलाई भारतमा कौडियाला र गेरुवालाई कोठिया भन्छन् । यी दुईटा हाँगा यहाँभन्दा २० किलोमिटर जति माथि चिसापानीमा छुट्टिन्छन् र १० किलोमिटर जति पर भारतको चहलवा भन्ने ठाउँमा पुगेर फेरि संगै मिसिन्छन् । यी दुईटा हाँगाको बीचको नेपाली भूभागलाई भँवरा तप्पा भनिन्छ । अचेल राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विभक्त छ भँवरा तप्पाको टापु  ।

हामी मात्रै एक्लो धावकजस्तो कुदिरहेका छौं बाटोमा । कसैसंग छैन प्रतिष्पर्धा । हामीसंगै चलिरहेको छ हाम्रो प्रतिष्पर्धा । कसैलाई उछिनेर छिटो पुग्नु पर्ने नभएपछि डर पनि हुन्न पछाडि परिने ।

सतीघाटको पुल तरेपछि आरम्भ भो कैलाली जिल्ला । देखियो सती क्षेत्रको फराकिलो फाँट । कुनै समय देह व्यापारको कारणले कुख्यात भएको ठाउँ विष्णुकान्तिपुर छेवैमा छ । हामीलाई त्यता जानु छैन । सिधै झुगा चौराहा हुँदै लाग्यौं पश्चिमतिर । केराखेती गरिएका हरिया फाँट र गहुँबारीको हरितिमाले शोभायमान छ बाटो वरपरको दृश्य । घाम लागेको बेलामा यो दृश्य पक्कै पनि सुन चम्किएजस्तो देखिदो हो । सडक वरपरका बटनपुर, धनसिंहपुर, नारायणपुर र सतीजस्ता ठाउँहरु हुस्सुको सेतो बर्को ओढेर अझैं मस्त निन्द्रामैं छन् जस्तो लाग्यो । टाढाटाढाका दृश्यहरुलाई त्यति छ्याङ्ग हेर्न सकिएन । नजिकनजिक देखिने दृश्यहरुले यहाँको सौन्दर्य सोपान आफ्नै कलामा पस्किरहेकै छन् । बाढीले क्षति पुर्‍याएका चिन्ह र बाढी रोक्ने उपायका सङ्केतहरु पनि देखिदैछन् वरपर । यो भेग कर्णालीमा आइरहने बाढीले पनि वर्षायाममा चर्चामा आइरहन्छ । तर चर्चाले रोकथामको स्थायी समाधान भने दिन सकेको छैन । 

हामी मात्रै एक्लो धावकजस्तो कुदिरहेका छौं बाटोमा । कसैसंग छैन प्रतिष्पर्धा । हामीसंगै चलिरहेको छ हाम्रो प्रतिष्पर्धा । कसैलाई उछिनेर छिटो पुग्नु पर्ने नभएपछि डर पनि हुन्न पछाडि परिने । एक्लै दौडेर विजेता बन्ने कुरामा ढुक्क भए जसरी कुद्दै छौं हामी । सेतो हुस्सुले हाम्रो सहयात्री बन्न छोडेको छैन अझै. । नौलो बाटो हिड्दा देखिने सबै नौला दृश्यहरुलाई आँखाभरि अटाउन व्यग्र छौं ।

दुगुर्दै पुग्यौं थेकिपुर । यस क्षेत्रलाई गहुँ र धानको राम्रो उब्जनी हुने ठाउँ मानिन्छ यो । पथरिया खोलाले यो ठाउँलाई निकै रसिलो पारेको छ । रसिला फाँट हेर्दाहेर्दै हामी भजनी पुगिहाल्यौं । हुन त भजनी राजापुरबाट अठार किलोमिटर मात्रै टाढा हो तर बाटो पुरै व्यवस्थित भै नसकेकोले अलि समय लागिहाल्यो । भजनी पनि निकै पुरानो बस्ती हो । अचेल आफ्नो पुरानो रुपमा नयाँ रङ्गरोगन गरेर चोला फेर्न आतुर छ भजनी । पुराना स्मृति चिन्हहरुमा विकासका नयाँ–नयाँ अङ्कुरण भैरहेका छन् भजनीको माटोमा । मेरा आँखाहरु मेरो साथी विजयराज श्रेष्ठले छरेका सम्झनामा बिम्वहरु खोज्न लागे भजनीको वातावरणमा ।

bhajani-1708743309.jpg
भजनी

कुनै समय भजनीका मोहनराज मल्लको निकै चर्चा थियो । कैलाली जिल्लाबाट पञ्चायतकालको अन्तिम कालखण्डमा राष्ट्रिय पंचायत सदस्यको लागि एक मात्र आसनको चुनाव हुने व्यवस्था हुँदा यिनैले जित्थे । २०१३ सालमा टंकप्रसाद आचार्यको सरकारमा सहायकमन्त्री भएका सूर्यबहादुर भारद्वाजले भजनीमा खोलेको निजी पुस्तकालय पनि निकै चर्चित थियो एकुन्ताका । जलचर जीव डल्फिनकोे संरक्षणमा प्रतिबद्ध गुलेली बाजे भनेर चिनिने भोजराज श्रेष्ठले पनि आफ्नै प्रकारले चिनाए यस ठाउँलाई । कञ्चनपुरदेखि बाँकेसम्म पुग्ने हुलाकी राजमार्गले यस क्षेत्रका पुराना बस्तीहरुलाई जोड्ने मात्र होइन बजारिकरण पनि गराइरहेको छ । त्यही प्रतिष्पर्धामा छ भजनी पनि । 

भजनी बजारका दृश्य आँखाले टिप्दै हामी बजारको छेवैमा रहेको कान्द्रा खोलाको डिलमा पुग्यौं । कान्द्रामा पुल नहुँदा अवरुद्ध भएको छ हुलाकी राजमार्ग । धमाधम भैरहेको रहेछ पुलको काम । हामीले काठका पातला फल्याकहरु जोडेर बनाइएको काठेपुलमाथि हिड्दै तर्‍यौं कान्द्रा ।

आरम्भ भो लालबोझी क्षेत्र । म धम्बोझीको मान्छे लालबोझी आइपुगेको छु । यो बोझी भन्ने परसर्गको अर्थ के रहेछ ? कुनै दिन खोजौंला । धम्बोझीमा जस्तै यस लालबोझीमा पनि अवधी भाषीहरुको वसोवास रहेछ । बोझीको अर्थ अवधी संस्कृतिमैं खोज्नु पर्ने हुन्छ । कान्द्रा खोलाले क्षतिग्रस्त गरेको नदीको ढीकैढिक अघि बढ्यौं । बाटोमा करमदेउ, कुटी, स्वामीचोक र हिम्मतपुरजस्ता ठाउँ पार गरेर चर्रा पुग्यौं । कुटी र स्वामीचोकले हाम्रै दशनामी संन्यास परम्पराको सम्झना दिलायो । कुनै साधुको कुटी भएको हुनाले उहाँकै नामबाट राखिएका होलान् कुटी र स्वामीचोक । हामी रोशनी लोनियाँको चियापसलमा पुग्यौं चिया पिउन भनेर । दुईदुई कप चिया नपिउँदासम्म चिया पिएजस्तै लागेन । गाउँका मानिसहरु आगो ताप्दै थिए पसलमा । चर्रा त हाम्रो बाँकेमा पनि छ । मैले यो चर्राको अर्थ के हो भनेर आगो ताप्न बसेकाहरुसित कुराकानी आरम्भ गरेँ । 

‘उहिलेउहिले टाढाटाढाबाट मान्छेहरु यहाँ गोठ बनाएर गाइबस्तु चराउन आउँथे । नदी र वनको छेउमा ठूलाठूला फाँटमा गाइबस्तु चराउन सजिलो भएकोले यो ठाउँकै नाम चर्रा नाम रहन गएको हो’ सुनायो एकजनाले । 

आफ्नै भाषा बोल्ने राजी जातीका मानिस पनि धेरै बस्छन् चर्राको छेउछाउमा । पसलमा भागिराम राजी नै नाम गरेका दुई जना मान्छे भेटिए । उनीहरुले कुरा गरेको राजी भाषाका कुनै शब्द बुझेनौं हामीले । 

‘यो ठाउँमा नेपाली मात्र बोलेर पुग्दैन अवधी, थारु र राजी भाषा पनि बोल्नुपर्छ सर’ चिया बाँडेर फुर्सद नपाएकी रोशनीले यति भन्न भ्याइहालिन् । 

‘चर्राबाट हामी पनि सर्नु पर्‍यो’ ललित भाइको बोली सुनेर स्थानीय गाउँलेहरु गललल हाँसे । हामी पनि हाँस्दै लाग्यौं आफ्नो बाटो । यात्रामा हिडेका मान्छेले एकै ठाउँमा अलमलिर बस्ने कुरा भएन ।

कान्द्रा खोलामा अवरुद्ध भएको हुलाकी सडक पुनः जोडियो । पाँच किलोमिटर जति अगाडि आइपुग्यो विपतपुर । विपतपुरनिर केआईसिंह फाँटा पर्छ भन्ने सुनेको थिएँ । हेर्ने रहर थियो । सशस्त्र प्रहरीको क्याम्पमा सोध्यौं ।
 
‘आइसक्यो ऊ त्यही हो’ भन्ने उत्तर पाएपछि त हामी दुगुरेर पुगिहाल्यौ केआईसिंह फाँटाको डिलमा ।

आँखा अगाडि छरियो केआईसिंह फाँटाको बाटुलो चौर । वरिपरि वनको माझमा गोलो आकारको भएकोले थारुहरु यसलाई गुलेराफाँटा भन्छन् रे । राजा महेन्द्रको राज्यकालमा २०१८ सालमा नेपालमा भूमिसुधार लागू भयो । २८ बिगाहाको न्युनतम् हदबन्दी तोकियो । त्यो भन्दा बढीको जमिन खोेसेर जग्गाबिहीनहरुलाई बाँडियो । त्यही बेला राजनीतिमा लागेर आफ्नो सम्पत्ति सकेकाहरुलाई राजनीतिक पीडित भन्दै राहतस्वरुप केही जमिन दिइयो । सरकारले डा.केआई सिंहलाई पनि जमिन दिने निर्णय गर्‍यो । त्यतिखेर उनको परिवार भजनीभन्दा दक्षिणतिर रहेको भारतको सिंगाही भन्ने ठाउँमा बस्थ्यो । डा.के.आई. सिंहको लागि उनका राजनीतिक मित्र रामदीन महतोले रामपुर र विपतपुरको माझमा रहेको फाँटमा जग्गा खोजीदिए । ‘डा.केआई सिंहलाई केही थपेर दिनू’ भनेर राजाले हुकुम भएको हुँदा उनलाई २८ बिगाहामा २ बिगाहा थपेर ३० बिगाहा जग्गा दिइयो । त्यो बेलादेखि यो ठाउँको नामै रह्यो केआई सिंह फाँटा ।

अचेल उनको जमिन उनका तीन जना छोराको नाममा १०-१० बिगाहा गरेर अंशबण्डा गरिएको रहेछ । उनका संतानहरु कोही बस्दैनन् यहाँ । केआई सिंह फाँटाको छेउमा एउटा घर देखियो । हामी त्यतै लाग्यौं । रामबहादुर चौधरीको घर रहेछ यो घर । यिनैले डा.केआई सिंहका संतानबाट ठेक्कामा लिएर यहाँ खेतीपाती गर्दारहेछन् । 

हामी अँगेनो वरिपरि झुम्मिएर डा.केआई सिंह र उनका परिवारजनको वारेमा कुरा सोध्न तम्सियौं उनीसित । उनले खासै चासो देखाएनन् । 

‘डा.केआई सिंहलाई मैले देख्नै पाइनँ । उहाँका छोराहरु पनि धेरै वृद्ध भैसक्नु भो । यता आउनु हुन्न । कहिलेकाहीं नातीहरु आउनुहुन्छ’ यति भनेर उम्किए उनी । माओबादी द्वन्द्वकालमा यहाँ भऐको एउटा घटनाको कारणले धेरै बोल्न डराएका रहेछन् उनी। 
    
वरिपरि सालका अग्लाअग्ला रुखहरुले घेरिएको केआइ सिंह फाँटाको शुष्क माटोलाई उर्वर बनाउन रामबहादुरले निकै परिश्रम गरेका रहेछन् । ट्रेक्टर र अन्य कृषि उपकरण राखेर खेती गरिरहेका रामबहादुर सुनाउन लागे— ‘हुलाकी सडक बनेपछि त अचेल केही चहलपहल बढेको छ । पहिले त सुनसान हुन्थ्यो यता । यिनै सालका रुखहरुसंग कुरा गरेर बसियो कैंयौं वर्ष त’। 
‘प्रति बिगाहा वार्षिक ४० हजारको दरले ठेक्कामा लिएको छु’ सुनाए रामबहादुरले । 

‘जङ्गली जनावर र घरपालुवा गाइबस्तुले अन्नबाली खाइदिन्छन् । वर्षायाममा बाढी आउँछ । खासै फाइदा हुन्न’ थपे उनले । 
‘के गर्नु हुन्छ त जङ्गली जीवजन्तुबाट बालीनाली जोगाउन?’ जिज्ञासा राखें मैले ।

‘ऊ त्यो तारमा विद्युतको करेन्ट छोडेको छु’ तीसै बिगाहा जमिनलाई घेरेको तार देखाउँदै उनले भने ‘यसले मारिहाल्दैन तर जो यसलाई छुन पुग्न उसलाई झड्का दिएर पर हुत्याइदिन्छ’ । परिश्रम गरेपछि माटोले पनि माया गर्दोरहेछ । हरियो गहुँ र पहेलपुर भएको तोरीले ढकमक्क ढाकेको छ केआइसिंह फाँटालाई । हरियो वनको माझमा थपक्क ओछ्याइएको जस्तो लाग्यो पहेंलो गलैंचा।

सूर्य आकाशमा देखिएका छैनन् तर उनी पश्चिम दिशातिर ढल्किन लागेको सङ्केत आकाशले गरिरहेको छ । चिसोको कम्पन दिनभरि झेलिरहेको हाम्रो शरीरले पनि न्यानो खोज्न थालिसक्यो । थकाई, भोक र तिर्खाले शरीरभित्र कतै चलमल गरिरहेको छ । तर आँखाको कुतुहलता भने अझैं मेटिएको छैन ।

हामीले केआई सिंह फाँटाको पुलनिर भेटिएका पतिराम थारुसंग कुराकानी गर्‍यौं । माओवादी द्वन्द्वकालमा माओवादीले यो सबै जमिन कब्जा गरेका रहेछन् । डा.केआई सिंहका मुन्ना भन्ने छोराले भारतबाट केही युवाहरु ल्याएर आफ्नो जग्गा कब्जा गर्नेहरुको प्रतिकार गरेका रहेछन् । स–सानो झडप नै भएको रहेछ । माओवादी पक्षले त्यही विषयलाई चर्काएर डा. सिंहलाई सामन्त र उनका छोरालाई दुष्ट देखाउने अभियान चलाएको रहेछ ।

आसपासका मान्छेहरु भने केआई सिंहका संतानहरुप्रति सकारात्मक नै रहेछन् । डा. केआई सिंहको परिवार पहिलेदेखि नै जनपक्षीय र क्रान्तिकारी थियो । उनका छोराले आजभन्दा छ दशकपहिले नै थारु परिवारकी कन्यासंग प्रेमविवाह गरेका थिए । थारु कन्याबाट जन्मेकी छोरीको विवाह पनि ठकुरी कुलमैं गरिदिएका छन् रे । त्यो कारणले पनि सिंह परिवारसंग थारु समुदायको अपनत्व नै रहेछ । राजनीतिले ल्याएको पुरानो तिक्तता अचेल छैन रे त्यहाँ ।

हामी निकै बेर बस्यौ त्यही पुलमा । बाटोमा फाट्टफुट्ट मात्रै मान्छे र बाहनहरु हिडेका छन् । चिसोको प्रकोपले गोठालाहरु पनि आज वनतिर निस्केनन् कि क्या हो? यस्तो ठाउँमा त गाईबस्तु चरेका, गोठालाहरुले कल्याङ्मल्याङ् गरेका र घाँस,दाउरा बोकेर घर फर्किरहेका मान्छेहरुको कोलाहल गुञ्जिनु पर्ने हो । मायाका भाकाहरु गाइरहेकी युवतिको स्वर बताससंग मिसिएर कतै टाढाबाट हामी छेउ आएको भए पो हुँदो कुनै भिन्न प्रकारको अनुभूति । कतै पर खोल्सामा कुनै युवकले बजाएको बाँसुरीको धून पनि हामी छेउ आइपुगेन आज त । यहाँ त संगसंगै उभिएर पनि ठुस्किएजस्ता देखिन्छन् रुखहरु । सिरसिर चलिरहेका बतासमा पनि त्यस्तो मादकता पाइएन । अनौठो निरवताले निलेको छ यहाँको वातावरणलाई । गाँउघर र वनपातको त्यो पुरानो संस्कृतिले कतै आफ्नो लय बिर्सिएको त हैन?

सूर्य आकाशमा देखिएका छैनन् तर उनी पश्चिम दिशातिर ढल्किन लागेको सङ्केत आकाशले गरिरहेको छ । चिसोको कम्पन दिनभरि झेलिरहेको हाम्रो शरीरले पनि न्यानो खोज्न थालिसक्यो । थकाई, भोक र तिर्खाले शरीरभित्र कतै चलमल गरिरहेको छ । तर आँखाको कुतुहलता भने अझैं मेटिएको छैन । ललितभाइ र म संगसंगै छौं । कतिखेर गुन्गुन गर्छौं, कतिखेर हाँस्छौं । कुनैबेला थाकेजस्तो गर्छौं । कुनैबेला बाटोका नौला दृश्यले संगसंगै रमाउँछौं । कतिखेर मौन रहेर एक्लाएक्लै भोग्न खोज्छौं आआँखाले टिपेको अनुभूतिलाई आआफ्नै सोपानमा । 

‘जाउँ सर ढिलो हुन्छ’ ललितभाइको स्वरले भङ्ग भयो मेरो ध्यान । चराहरुको एक हुल हामी बसेकै पुलमाथिबाट भुर्रभुर्र गर्दै केआइसिंह फाँटातिर लाग्यो । हामी पनि उठ्यौं र सोझियौं हाम्रै गन्तव्यतिर । मैले बोलें, ललितभाइले टिपे-

हिड्दाहिड्दै बाटोसंगै हिडिरह्यो छाया
मनको रहर पोखिएछ कतै दायाँबायाँ

 
(रानाचोक वार्ड नं. १, नेपालगन्ज)
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update