
काठमाडौँ — साहित्यकार बसन्त चौधरीको पहिलो आख्यान 'देवयानी' सार्वजनिक गरिएको छ । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा 'देवयानी' सार्वजनिक गरिएको हो।
कार्यक्रमको पहिलो चरणमा लेखक उमा सुवेदी, अमर न्यौपाने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, समिक्षक कुमारी लामा तथा पत्रकार बबिता बस्नेतको पठन अनुभव समेटिएको सामग्री प्रस्तुत गरिएको थियो ।
लेखक तथा समिक्षकले 'देवयानी' उपन्यासले नेपाली समाजको अव्यक्त प्रेमको पाटो उजागर गरेको बताए । लेखक अमर न्यौपानेले यस उपन्यासले पुरुषको मनोदशालाई प्रभावशाली शैलीमा दुरुस्तै उतारेको बताए भने समिक्षक कुमारी लामाले यो पुस्तकले महिलाको मौन विद्रोहको चित्रण सशक्त तरिकाले गरेको बताइन् ।
त्यस्तै, दोस्रो चरणमा लेखक बसन्त चौधरीसँग अभिनेता दिव्यदेवले लेखन र 'देवयानी' उपन्यासमा केन्द्रित रहेर संवाद गरेका थिए ।
लेखक चौधरीले प्रेमका विषयमा अनगिन्ति आख्यान लेखिए पनि आफूले समाजमा विद्यमान प्रेमको नितान्त फरक पाटोमा कलम चलाएको बताए । उनले भने, 'प्रेम एकै हुन्छ । व्यक्त गर्ने र ग्रहण गर्ने तरिका फरक हुन्छ । देवायनीमा मैले लेखेको प्रेमबारे समाज बोल्न हिच्किचाइरहेको छ । त्यो पाटोमा कसैले लेखेकै छैन । त्यसैले मैले लेखेको हुँ ।' आफ्नो लेखन प्रक्रियाबारे बोल्दै लेखक बसन्त चौधरीले आफूले समाजकै यथार्थलाई उतारेको उल्लेख गरे ।
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित 'देवयानी' को डिजिटल लोकार्पण गरिएको हो । यसअघि चौधरीका कविता, गीत, गजल, निबन्ध गरेर २२ कृति प्रकाशित छन् । 'देवयानी' उनको २३ औं कृति हो ।