Mero Chitwan
छाया-छविका केही दृश्यावली

१. प्रारम्भ :

   चुसेका छन् यिन्ले गरिब जनका रक्त-पसिना
   तिनैका थाप्लामा प्रकृति पनि हा ! झार्छ असिना ।
               -गिरिधारी घिमिरे विशिष्ट , यसै कृतिबाट ।

कविता भन्नु नै जीवनका अनुभूतिमय राग-विरागका रङ्ग-तरेलीहरू हुन् । सुख-दु:खका वा प्राप्ति अप्राप्तिका धरोहरहरू हुन् । मानवीय विवेक या विवेकहीनताका शृङ्खलित वा विशृङ्खलित शब्दिक संयोगहरू हुन् । प्राकृतिक परिवेशमा प्रक्षेपित पर्यावरणीय परिवर्तनका परिणाममयी आक्षरिक प्रतिबिम्बहरू हुन् ।भावनामा सलबलाउने समय , समाज र संवेदनाका छायाँ-छविहरू हुन् । यिनै छायाँ-छविहरूलाई सुललित शब्द-चित्रमा सजाउने बानी बसालेका वाग्देवीका मानस पुत्र हुन् - गिरिधारी घिमिरे विशिष्ट ।

२. कवि र कविको व्यक्तित्व परिचय :

वि. सं. २००६ साल आश्विन १६ गते माता पम्फा घिमिरे र पिता मार्कण्डेय घिमिरेका ज्येष्ठ पुत्ररत्नका रूपमा लमजुङ , दुराडाँडा धारापानीमा गिरिधारी घिमिरेको जन्म भएको हो । साहित्यिक फाँटमा विशिष्टको उपनामले परिचित मृदुभाषी कर्तव्यनिष्ठ र व्यवहार कुशल घिमिरे शिक्षक सेवाबाट निवृत्त भए पछि रत्ननगर नगरपालिका-२, मा स्थायी बसोबास गरी छन्दोबद्ध र गीति कवितामा साधना , अभ्यास र अध्ययनमा संलग्न हुनुहुन्छ । कुशल काव्यसाधक घिमिरे सरल , सरस र सुललित शैलीमा देशको प्राकृतिक सुन्दरता र राष्ट्रप्रेम अनि नैतिक शिक्षा र सांस्कृतिक सौरभको कलात्मक चित्रणगर्नमा जति रुचि राख्नुहुन्छ उति नै सामाजिक सेवामा समेत समर्पित हुनुहुन्छ ।

उहाँका हालसम्म प्रकाशित रचनाहरुमा प्रेरणा ( कवितासङ्ग्रह २०५७ ) , आमा ( शोककाव्य २०६५,) , कतै रोदन कतै हाँसो ( २०७० ) र जीवनका भोगाइ ( संस्मरण २०७६ ) रहेका छन् । सृजना यात्रामा रहँदै गर्दा केही साहित्यिक र गैर साहित्यिक संस्थाहरुबाट पुरस्कृत र सम्मानित हुने अवसर पाउनु हुने कवि घिमिरे वाल्मीकि साहित्य सदनको निकटवर्ती हुनुहुन्छ । उहाँका अद्यापि कविता , निबन्ध , संस्मरण र लेख आदि फुटकर रचनाहरूमा प्रकाशित छन् र तिनले मनकारी प्रकाशकको प्रतीक्षा गरिरहेका छन् । 

यथार्थत: नेपालको प्राकृतिक रमणीयतामा आफूलाई भुलाउँदै राष्ट्रप्रेममा चुर्लुम्म डुबेर संरचना गरिएका विविध भाव , विविध रस , विविध लय र विविध राजनीतिक उतारचढावका साथै केही स्वार्थप्रेरित , संस्कारत्यक्त र राजनीतिक चिन्तनबाट परपुगिसकेका तथाकथित दल-नायकहरुका गतिविधिबाट आहत हुँदाका क्षणहरूलाई टिपनटापन गरी सत्तरीओटा शीर्षकमा अनुबन्धित अनुष्टुप छन्दमा पचास, शार्दूलविक्रीडितमा छयासी , शिखरिणीमा उनपचास , मन्दाक्रान्तामा तेइस , उपजातिमा त्रिचालिस , शालिनीमा पाँच र लोकलयमा एक सय पाँच गरी जम्मा तीन सय छैसठ्ठीओटा श्लोकहरूमा सङ्ग्रहित सद्य परकाशोन्मुख कवितासङ्ग्रह 'छायाँ-छवि' ( २०७९ ) प्रकाशनमा ल्याउनु भएको छ । 

chhaya-chhabi-final-1708744876.jpeg

३. छन्द सम्बन्धी एक दुई कुरा :

सम्भवत: छन्दको प्रादुर्भाव सृष्टसँगै हुनुपर्दछ । छन्द पादौ तु वेदस्य' पाणिनीय शिक्षा ४१/४१ मा इङ्गित भए अनुसार लौकिक साहित्यमा यसको विस्तार भएको पाइन्छ । छन्द सूत्रका अभियन्ता आचार्य पिङ्गल मानिन्छन् । वेदमा छन्दको प्रयोग , उपनिषद् मा छन्द , छन्दमा पुराण , संस्कृत काव्यमा झैं नेपाली साहित्यमा छन्दका गहिरो प्रभाव छ ।यसो त प्राचीन ग्रीसेली साहित्यदेखि नै छन्दको प्रयोगले अङ्ग्रेजी साहित्यलाई असर पारेको छैन भन्न सकिन्न ।
    
४. छन्द सम्बन्धी छोटो चर्चा

छन्दमा कविता गर्न छन्दशास्त्रमा वर्णित गण सङ्केतहरुको जानकारी योग्य गुरुबाट लिनु राम्रो हुन्छ ।संस्कृत-काव्यमा झैं अङ्ग्रेजी साहित्यमा पनि छन्दको राम्रो प्रयोग पाइन्छ ।प्राचीन ग्रिसेली वा अङ्ग्रेजी साहित्यमा 'U' ( यु ) जस्तो आकारको चिन्हले ह्रस्व अर्थात् ' l ' ( आई ) , अनि - ( तेर्सो ) चिन्हले दीर्घ अर्थात् गुरु ' S ' सङ्केत गरिने प्रचलन छ । अङ्ग्रेजी साहित्यमा लघुलाई unstressed वा unaccentuated र गुरुलाई stressed वा accentuated syllable भनिन्छ । सबैले गणसङ्केतका लागि सर्वसुलभ आधारसूत्र ' यमाताराजभानसलगा ' लाई नै मान्दछन् । बहरमा गजल लेख्नेहरूले लघुलाई '१' र गुरुलाई '२' को सङ्केतले काम चलाउँछन् ।यगण , मगण र तगणजस्ता गणहरु आठओटा हुन्छन् र एउटा गणमा निम्नानुसार तीन अक्षरले युक्त लघु-गुरुको व्यवस्था गरिएको हुन्छ । यथा-

(१) ˘ ¯ ¯ यगण ( ISS ) यमाता १२२ / bacchius 
(२) ¯ ¯ ¯ मगण (SSS) मातारा २२२ / molossus
(३) ¯ ¯ ˘ तगण (SSI) ताराज २२१ / antibacchius 
(४) ¯ ˘ ¯ रगण (SIS) राजभा २१२ / cretic, amphimacer 
(५) ˘ ¯ ˘ जगण (ISI) जभान १२१ / amphibrach 
(६) ¯ ˘ ˘ भगण (SII) भानस २११ / dactyl 
(७) ˘ ˘ ˘ नगण (III) नसल १११ / tribrach ।
(८) ˘ ˘ ¯ सगण (IIS) सलगा ११२ / anapaest, antidactylus 
(९) ¯ ˘ लघु र गुरु (IS) लगा १२ / iamb

        माथिका ९ ओटा बुँदागत सङ्केतलाई बुझाउन एक श्लोक प्रस्तुत गरिन्छ -

   'भ ज स' दीर्घ हुन्छन् है आदि, मध्य र अन्त्यमा
   'य र त' ह्रस्व नै हुन्छन्, 'म न' दीर्घ र ह्रस्व हुन् ।

बोधार्थ :- भगणको अघिको , जगणको , माझको र सगणको छेउको अक्षर दीर्घ भएझैं यगणको अघिको , रगणको , माझको र तगणको छेउको अक्षर ह्रस्व हुन्छन् भने मगणको पूरै दीर्घ र नगणको पूरै ह्रस्व हुन्छन् । 'ल'ले लघु र 'ग'ले गुरु बुझाउँछन् । 

५.. छाया-छविका केही अविस्मरणीय दृश्यावलीहरू :

नेपाली जनताले परिवर्तनका लागि आँधीहुरी सिर्जना गरी आन्दोलन गरे । नेपाल-आमाका कयौं सपूतहरूले शहादत प्राप्त गरे । देशमा गणतन्त्र त आयो , नयाँ संविधान बन्यो र निर्वाचनहरू पनि पटकपटक भए किन्तु देश र जनताको अवस्थामा परिवर्तन आएन । महङ्गी , भ्रष्टाचार , नातावाद , कृपावाद , पार्टीवाद , विदेशी चलखेलवाद र स्वार्थमुखी सत्तावादले सगरमाथाको उचाइलाई उछिनिदिएको छ । देश , जनता , गणतन्त्र , न्याय , र मानव अधिकारप्रति राजनेताहरुको बढ्दो गैर जिम्मेबारी आचरण र व्यवहारले कवि-हृदय आहत भएको छ । तलको उपजाति छन्दमा यिनै आजको विद्रूप स्वरूपप्रति ज्वलन र आकेरोश अभिव्यक्त प्रकट भएका छन् । यथा-

   भित्रेर यस्तो गणतन्त्र छाडा
      छ मित्रता दुस्मनसाथ गाढा
        मियो बिनाको हुन गो नि दाइँ
           ती भ्रष्ट जालीहरुकै रजाइँ ।
         -बिना मियोको दाइँ , छाया-छवि ।

नेपाल प्राकृतिक वैभवले परिपूर्ण सुन्दर देश हो । गलत राजनीतिक चिन्तन , सोच र व्यवहारका कारण आज पनि श्रमजीवी गरीब किसान मजदुरहरु तिनै मोजमस्तीमा चुर्लुम्म डुबेका ठुलाठालुहरूका भजन गाउँदै र तिनकै भरिया भएर भोकभोकै , नाङ्गै र पसिना चुहाउँदै ठाडा उकालाहरू चढ्न विवश छन् । राणाकालीन कुहीगन्धे पात्र प्रवृत्तिप्रति यसरी कवि गुनासो पोख्छन्-

झार्छन् कोही गरम पसिना देहमा छैन टालो
  बोक्दै भारी पथ असजिलो चढ्नु पर्ने उकालो
   टाठाबाठा जन सब यहीं गर्दछन् मोज मस्ती 
     चुस्दै तिन्का रगत पसिना गाउँदै छन् प्रसस्ती ।
                              -दु:खीको जीवन ।

कवि गिरिधारी घिमिरे विशिष्ट राष्टवादी कवि हुन् । उनका प्राय सबै रचनामा राष्ट्रप्रेमको भावना मुखरित भएका हुन्छन् । संस्कृति र संस्कारप्रतिको मोह उच्छलित भएका हुन्छन् । समाज र राजनीति नारायणीको जल-प्रवाहजस्तै निर्मल हुनुपर्ने धारणा अभिव्यक्तिएका हुन्छन् । प्राकृतिक मनोहारिता र श्रमकोको सुन्दर उदाहरण दिइरहेका हुन्छन् । यथा-

  बाटो छ गाउँतिरको उकाली
    चढ्दै पसीना श्रमको निकाली
      धारो छ ढुङ्गे जरुवा छ पानी
         छ स्वस्थ हाम्रो बुझ जिन्दगानीा ।
                                -किसान ।
परम्परा , संस्कृति र इतिहासप्रति अविचल आस्था राख्ने कवि घिमिरे वीर पुर्खाहरूले वैरीहरूलाई देशभित्र छिर्नै नदिई रगत र पसिना बगाएर राष्ट्रिय अक्षुण्यतालाई सजगतापूर्वक रखिरहे ।आज फेरि विभिन्न बहानाबाजी गरी आफ्नो रूप फेर्दै देशलाई हडपिन लागेको तथ्यलाई यसरी प्रकट गर्दछन् । यथा-

पुर्खाले त्यो रगत पसिना यै धरामा बगाए
  वैरी सामू विचलित न भै देश हाम्रो बचाए
   जागा होऔं नबस यसरी देशका दाजुभाइ
     वैरी आयो हडपिन यहाँ देश नेपाललाई ।
                               -जागा होऔं ।

खस्किंदो राजनीतिका कारण आजको युवाहरू डलरको मोहनीले विदेश पलायन भइरहेका छन् । वृद्ध बा आमाहरू बुढेसकालका आशा भरोसाका आफ्नो सन्तान परपर हुँदै गएकामा सहाराविहीन बन्दै गएका छन् । यसैप्रति लक्षित एउटा कविता प्रस्तुत गर्दै ओझेल पर्दछु-

बुबा आमा भन्दा पनि प्रिय बनेको छ डलर
बुबा आमा जस्तो भुवन भर कोही अरु छ र ?

०००

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update