Mero Chitwan
शिक्षक लाइसेन्समा ९० प्रतिशत फेल : शिक्षा प्रणालीमाथि प्रश्न उब्जिएकै हो ?

काठमाडौं । बालबालिकालाई गुणस्तरीय शिक्षा दिई योग्य र नैतिकवान बनाउने काम शिक्षकको हो । यसका लागि अनिवार्य रूपमा अध्यापन अनुमति पत्र अर्थात् लाइसेन्स परीक्षा पास हुनुपर्छ । तर, यही शिक्षक लाइसेन्सका लागि शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको परीक्षामा सहभागीमध्ये ९१ दशमलव ४ प्रतिशत फेल भएका छन् । यसले विद्यालयदेखि विश्वविद्यालय तहसम्मकै शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उब्जिएको छ । 

सामुदायिक विद्यालयका शिक्षकहरूको नियुक्ति, बढुवा र अध्यापन अनुमति पत्रका लागि परीक्षा लिई सिफारिस गर्ने मुख्य काम शिक्षक सेवा आयोगको हो । आयोगले गत कार्तिक दोस्रो साता लिएको निमावि तहको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ५१ हजार सहभागी भएका थिए ।

न्यूनतम शिक्षा विषय लिई कक्षा १२ पास गरेकाले परीक्षामा सहभागी हुन पाउने व्यवस्था अनुसार १ सय पूर्णाङ्कको ५० वटा वस्तुगत प्रश्नमध्ये ५० प्रतिशत मिलाए पास हुने प्रावधान थियो । तर, जम्मा ८ दशमलव ६ प्रतिशत अर्थात् १३ हजार ७ जना मात्र पास भए, १ लाख ३८ हजार फेल भए । लाइसेन्स परीक्षामा यति धेरै विद्यार्थी फेल हुनु गम्भीर विषय भएको आयोगका अधिकारीको भनाइ छ । 

शिक्षक लाइसेन्स परीक्षामा कमजोर नतिजा आएको यो पहिलो पटक होइन । गत वर्ष लिइएको निमावि तहको लाइसेन्स परीक्षामा पनि १ लाख ८१ हजार परीक्षार्थीमध्ये ८२ प्रतिशत फेल भएका थिए । पछिल्लो समय शिक्षा विषय विद्यार्थीहरूको प्राथमिकतामा पर्न छाडेको छ । अझ एसईईमा सबैभन्दा तल्लो श्रेणी ल्याउने र अरू सङ्कायमा भर्ना नपाउने विद्यार्थीहरू शिक्षा विषयतिर जाने गरेका छन् । कम विद्यार्थी, क्याम्पसहरूमा नियमित पढाइ अभाव र मिहिनेत नगर्ने प्रवृत्तिको नतिजास्वरुप यति धेरै विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएको शिक्षक तथा विद्यार्थीको स्वीकारोक्ति छ । 

कमजोर नतिजा शिक्षक लाइसेन्समा मात्र सीमित छैन, मेधावी विद्यार्थी पढ्ने भनिएको एमबीबीएस तथा बीडीएसको चिकित्सा दर्ता अर्थात् लाइसेन्स परीक्षामा समेत झन्डै ६० प्रतिशत विद्यार्थी फेल भएका छन् । हालैको नर्सिङ लाइसेन्समा ८२ प्रतिशत फेल भएका छन् ।

एसईईमा ग्रेडिङ प्रणाली लागू गरिएदेखि नै शिक्षक तथा विद्यार्थीमा मिहिनेत गर्ने बानीमा कमी आएको त थियो नै, त्यसमाथि कोभिड महामारीपछि पठन संस्कृतिमा आएको ह्रासका कारण हरेक परीक्षाको नतिजा कमजोर हुँदै गएको विज्ञहरूको बुझाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update