Mero Chitwan
वन्यजन्तु अवलोकन गर्न बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाइँदै
जर्मनीको हाइनिस राष्ट्रिय निकुन्जमा बनाइएको क्यानोपी वाक

सौराहा (चितवन)–चितवनको बाघमारा सामुदायिक वनमा अब हिडेरै वन्यजन्तु अवलोकन गर्न पाइने भएको छ । वन्यजन्तु अवलोकनका लागि बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाउन लागिएको हो । 

सामुदायिक वनका अध्यक्ष  एवं सौराहाका पर्यटन व्यवसायी जितु तामाङले क्यानोपी वाकका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) जारी रहेको र त्यो सकिनेबित्तिकै ठेक्का प्रक्रिया अघि बढ्ने जानकारी दिए । 

आठ समय मिटर लम्बााईको क्यानोपी वाक पूरानो वनदेवी मन्दिरबाट सुरु भई डुंगा घाटसम्म निर्माण हुनेछ । यसका साथै ठाउँ–ठाउँमा वन्यजन्तु तथा चराचुरुंगी अवलोकन गर्न बर्ड हाइट (मचान) पनि निर्माण हुनेछ । 

‘यो अवधारणा नयाँ भएकाले पर्यटन प्रवर्द्धनका लागि कोशेढुंगा साबित हुनेछ,’क्यानोपी निर्माणमा पहल गरिरहेका बाघमारा सामुदायिक वनका अध्यक्ष तामाङले भने, ‘यो सुरक्षित पनि हुने भएकाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुनेछ ।’ झोलुंगे पुलजस्तै हुने क्यानोपी वाक जमिनबाट १८ फिटमाथि निर्माण हुने बताइएको छ ।

अहिलेसम्म हात्ती तथा जिप सफारीमार्फत् निकुन्ज तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अवलोकन गर्ने गरिएको छ । तर, हात्ती सफारी बिस्तारै घट्दै गएको छ । निकुन्जले सरकारी तवरबाट हात्ती सफारी बन्द गरेको छ भने भएका हात्तीसमेत घट्दै गएका छन् । केहीसमयअघि सम्म हात्ती सफारीका लागि ७५ वटा हात्ती रहेकामा अहिले घटेर ३९ वटा छन्।

अहिले निजी क्षेत्रले मात्र हात्ती सफारी गर्ने गरेका छन्। ‘ हात्ती घट्दै गएका छन्, भएकाले अब मुस्किलले १०–१२ वर्षमात्र हात्ती सफारी हुने अवस्था छ, त्यसमाथि अहिले वन्यजन्तु अधिकारकर्मीहरुले हात्ती सफारीमाथि प्रश्न उठाइरहेका छन्,’ तामाङले भने, ‘यहीकारण नयाँ अवधारणा ल्याइएको हो ।’

यो क्यानोपी सफल भए अन्य स्थानमा पनि थप्दै लगिने उनको भनाइ छ। 

बागमती प्रदेशको आर्थिक सहयोग तथा चितवनका पर्यटन व्यवसायी, होटल तथा रेस्टुरेन्ट एशोसियसन, मध्यवर्ती क्षेत्र, निकुन्ज तथा वन्यजन्तु विभागको पहलमा क्यानोपी वाक निर्माण गर्न लागिएको हो । 

कस्तो हो क्यानोपी वाक?
वन्यजन्तु तथा पशुपंक्षी अवलोकनका लागि जंगल क्षेत्रमा झोलुंगे पुलजस्तो बनााएर निर्माण गरिने संरचना नै क्यानोपी वाक हो । नेपालमा यो नयाँ अवधारणा भएपनि छिमेकी भारतसहित युरोप, थाइल्याण्डलगायतका विश्वका अन्य मुलुकमा क्यानोपी वाक प्रचलनमा छ । सतहबाट अग्लो बनाइने भएकाले यो सुरक्षित मानिने पर्यटन व्यवसायीको भनाइ छ। 

kakum-malasia-1712373025.jpeg
मलेसियाको काकुम राष्ट्रिय निकुन्ज
costarica-1712373024.jpg
कोस्टारिकाको राष्ट्रिय निकुन्ज
gergia-1712373023.jpg
जर्जियाको राष्ट्रिय निकुन्ज
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update