Mero Chitwan
बाघलाई सार्वजनिक प्रदर्शनीको विषय बनाइनु कति उचित ? 

चितवन–तराई भू–परिधि कार्यक्रम (ताल)को ४१ लाख रुपैयाँ खर्चेर चितवनको भरतपु्र ६ देवनगरमा तयार पारिएको वन्यजन्तु उद्धार केन्द्र यही चैत १४ देखि उद्घाटन गरिएको छ, जहाँ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएका २ वटा पाटे बाघ राखिएको छ । 

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर सञ्चालनमा ल्याइएको यो केन्द्रमा राखिएका बाघ हेर्न टिकटको समेत व्यवस्था गरिँदैछ । केन्द्रको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवन राष्ट्रिय निकुन्जमा गैंडा र मृगबाहेक बाघ देख्न मुस्किल भएपछि बाघ राखिएको बताइन् ।

‘भएको चिजलाई सदुपयोग गरिएको हो, यत्रो राष्ट्रिय निकुन्ज भन्ने, अनि पर्यटकलाई घुमाउन लग्यो, त्यो गैंडा र मृगबाहेक आक्कलझुक्कल देखिए बँदेलसम्म देखिने,  बाघ देख्न त मुस्किलको कुरा हुने,’ उनले भनिन् । अब बाघपछि आपसी समन्वयमा गैंडा र मृगलाई राख्ने स्थान बनाउने उनको भनाइ छ । 

उनले केन्द्रलाई भ्रमण वर्षको गन्तव्यका रुपमा विकास गरिने पनि बताइन्। 

तर, चितवन राष्ट्रिय निकुन्जमा बाघ नै देख्न मुस्किल हुने भएकाले भरतपुरमा बाघ हेर्ने व्यवस्था मिलाइएको मेयर दाहालको भनाइप्रति पर्यटन व्यवसायी र संरक्षणविद्ले आपत्ति जनाएका छन् । ‘निकुन्जमा गएर बाघ देखिन्न, बरु भरतपुरमा देखिन्छ भनेर प्रचार गरिनु् गलत हो, यसले पर्यटन प्रवद्र्धन हुँदैन,’ क्षेत्रीय होटल संघका पूर्वअध्यक्षसमेत रहेका पर्यटन व्यवसायी सुमनकुमार घिमिरेले भने, ‘निकुन्जमा गएर समय लिएर हेरे पो देखिन्छ, तर, सजिलै बाघ हेर्न पाइन्छ भनेर प्रचार गरिनु गलत हो ।’

वन्यजन्तु संरक्षणविद्हरु पनि समस्याग्रस्त वन्यजन्तुलाई राख्ने भनेर बनाइएको केन्द्रलाई अहिले आएर पर्यटन प्रवर्द्रधनका लागि जोडिनु र सार्वजनिक प्रदर्शनीको विषय बनाइनु आपत्तिजनक भएको बताउछन्। 

संरक्षणविद् रोशन शेरचनले बाघ घनाजंगलमा बस्ने र शान्त वातावरण मन पराउने प्राणी भएकाले यसरी सार्वजनिक प्रदर्शनीको विषय बनाउनु ठीक नभएको बताए । ‘भरतपुर भ्रमण वर्षका अवसरमा बाघ हेर्न पाइन्छ भनेर जुन हिसाबले प्रचार गरिएको छ, त्यो गलतमात्र होइन, खेदजनक छ,’ उनले भने । 

मान्छेलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिइएका दुवै बाघलाई अहिले केन्द्रमा राखिएको हो । तर, सार्वजनिक प्रदर्शनमा राखिँदा ती बाघ झन् आक्रामक हुन सक्नेतर्फ पनि संरक्षणविद्हरुले चेतावनी दिएका छन्, जुन बुधबार उद्घाटनका क्रममा खिचिएका दृश्यमा पनि देखिएका थिए । बाघले खोरभित्रैबाट मानिसको भीडतर्फ आक्रामक व्यवहार देखाएको थियो। 

tiger-1711616080.JPG

‘यसो गरिँदा प्राकृतिक रुपमा बस्ने जनावरले झन् तनाव महसुस गर्छन्, मानिसको उपस्थितिले झिँझो मान्न सक्छन् र झन आक्रोशित हुने सम्भावना हुन्छ,’ शेरचनाले भने, ‘बाघलाई तमासा बनाइनु गलत हो ।’उद्धार केन्द्रको उद्धेश्यअनुरुप बाघलाई भिडभाडमा नभई शान्त वातावरणमा राख्नुपर्ने र केही समयपछि उनीहरुकै प्राकृतिक वासस्थानमै फर्काउनुपर्ने शेरचनको भनाई छ । 

कछि छन् चितवन निकुन्जमा बाघ ?
भरतपुर मेयर दाहालले ‘बाघै देख्न मुस्किल’ भने पनि नेपालमा बाघको संख्या भने बढ्दै गएको देखिन्छ । २०७८ मंसिरदेखि फागुनसम्म गरिएको बाघ गणनामा नेपालमा बाघको  संख्या वृद्धि भएर ३ सय ५५ पुगेको तथ्यांक सार्वजनिक भएको थियो, जसमध्ये सबैभन्दा धेरै अर्थात् १ सय २८ चितवन राष्ट्रिय निकुन्जमा छन् भने बर्दियामा १ सय २५ छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ३६ वटा बाघ पाइएका छन्। 

तर, बाघको संख्या बढेसँगै मानव वन्यजन्तु द्वन्द्व पनि बढेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update