Mero Chitwan
सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध

काठमाडौं : लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ।

सोमबार पीडितहरू संसद भवन परिसर भित्र छिरेर नारा जुलुस गरेपछि सरकारले सुरक्षा संवेदनशीलता भन्दै यी क्षेत्रमा हिँड्न प्रतिबन्ध लगाएको हो।

मंगलबार सिंहदरबार अगाडीका फुटपाथमा निषेधित क्षेत्र लेखिएको तुलहरु टाँगिएको छ। यसैगरी नयाँबानेश्वरस्थित संसद भवन फुटपाथमा समेत डोरी टाँगिएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले अहिलेको सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै तत्कालका लागि मात्र यस्तो व्यवस्था गरिएको जानकारी दिए। 

‘पैदल यात्रुहरू फुटपाथमा हिँड्न पाउनुपर्छ भन्नेमा कुनै दुईमत रहने, तर अहिलेको सुरक्षा संवेदनशिलतालाई मध्यनजर राख्दै यस्तो गरिएको हो’, उनले  भने।

सोमबार प्रहरीले लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोडेको र संसद भवन परिसरबाट पक्राउ गरेको थियो। उक्त घटनामा ४९ जना प्रदर्शनकारी पक्राउ परेका थिए।

पीडितहरू संसद भवन परिसर भित्र छिरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकाय प्रमुखहरूलाई गृह मन्त्रालयमा डाँकेर छलफल गरेका थिए। उनले सुरक्षा संवेदनशील क्षेत्रमा कसरी प्रदर्शनकारीहरू पुगे? भन्दे सुरक्षा प्रमुखहरूलाई प्रश्न गरेका थिए।

यस घटनापछि गृह मन्त्रालयले त्यहाँ खटिने सुरक्षाकर्मीहरू सहित ३२ जनाको जिम्मेवारी खोसेको थियो। जिम्मेवारी मात्र यो घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update