Mero Chitwan
बच्चा जन्माउनेलाई लाखौं बाँड्दै एउटा कम्पनी

एजेन्सी–घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रतिबच्चा ७५ हजार डलर (नेपाली रुपैयाँ ९९ लाख २९ हजार बराबर) दिने घोषणा गरेको छ ।

सियोलस्थित निर्माण कम्पनी बोयोङ ग्रुपले फेब्रुअरी ६ मा एक विज्ञप्ति जारी गर्दै यो घोषणा महिला र पुरुष दुवैका लागि लागू हुने जनाएको हो । कम्पनीले सन् २०२१ पछि सन्तान जन्माउने कर्मचारीका लागि साढे ५२ लाख डलर छुट्याउने पनि जनाएको छ । 

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न यति ठूलो रकम छुट्याउने निर्णय गर्ने बोयोङ ग्रुप दक्षिण कोरियाकै पहिलो हो । 

मिडिया रिपोर्टहरूका अनुसार, यो प्रस्तावले कर्मचारीहरूलाई बालबच्चा हुर्काउन मद्दत गर्नेछ । बोयोङ ग्रुपका अध्यक्ष ली जुङ(केउनले बालबालिका हुर्काउने आर्थिक बोझ कम गर्न कम्पनीले आफ्ना कर्मचारीहरूलाई आर्थिक सहायता उपलब्ध गराएको बताए। उनले भने, ‘यदि कोरियाको जन्मदर कम रह्यो भने बीस वर्षमा देश लोप हुने खतरा छ ।

घट्दो जन्मदर 
न्यून जन्मदरले काम र पारिवारिक जीवनलाई सन्तुलनमा राख्न कठिनाई हुन्छ, त्यसैले हामीले यस्तो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरेका छौं,’ उनले भने।

कम्पनीका अनु्सार तीन छोराछोरी भएका कर्मचारीहरूले २ लाख २५ हजार डलर नगद या घर लिने विकल्प पाउनेछन् । घर  निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराए तीन सन्तान भएका कर्मचारीलाई भाडाको घर दिन पनि तयार रहेको कम्पनीले जनाएको छ । 

बोयोङ ग्रुपले धेरै सन्तान जन्माउनेलाई करमा छुट दिन पनि सरकारलाई आग्रह गरेको छ । कम्पनीको यो घोषणालाई कम्पनीका कर्मचारीहरुले स्वागत गरेका छन् । 'म बच्चा हुर्काउनको लागि आर्थिक कठिनाइको बारेमा चिन्तित थिएँ, तर कम्पनीको सहयोगको कारण म अब अर्को बच्चा जन्माउने विचार गर्दैछु, ’ जनवरीमा बुबा बनेका एक व्यक्तिले भने।

दक्षिण कोरियाको जन्मदर एक प्रतिशतभन्दा कम छ, जुन विश्वमै सबैभन्दा कम हो । सन् २०२२ मा दक्षिण कोरियामा प्रजनन दर ०.७८ थियो। यो अझै घट्ने सम्भावना छ । विकसित देशहरूमा सैद्धान्तिक रूपमा स्थिर जनसंख्या दर कायम गर्न, कम्तिमा २.१ जन्मदर आवश्यक छ।

दक्षिण कोरियाको केन्द्रीय र स्थानीय सरकारले घट्दो जन्मदरलाई कम गर्न बच्चा जन्माउने सबैलाई नगद र अन्य सुविधा दिनेबारेमा विचार गरिरहेका छन् । 

दक्षिण कोरियाले सन् २००६ देखि जन्मदर बढाउन १६६ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ, तर २०६७ मा जनसंख्या घटेर ३ करोड ९० लाख हुने र औसत उमेर ६२ वर्ष पुग्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update