Mero Chitwan
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ माचादोलाई

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचादोले पाउनुभएको छ । नर्वेजियन नोबेल समितिले मारियाले ‘बढ्दो अन्धकारविरुद्ध लोकतन्त्रको ज्योति बलिरहने' काममा सहयोग गरेको उल्लेख गर्दै यसवर्षको शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

ओस्लोमा आयोजित पुरस्कार घोषणा समारोहमा समितिले माचादोले 'तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रुपान्तरणका लागि गरेको संघर्ष'को प्रशंसा गरेको छ। समितिले ल्याटिन अमेरिकाको सबैभन्दा असाधारण नागरिक साहसको उदाहरण प्रस्तुत् गरेको उल्लेख गरेको छ ।

सन् १९६७ मा भेनेजुएलामा जन्मिएकी माचादोसँग जनताको अधिकार स्थापनाका निम्ति तानाशाही व्यवस्थासँग निरन्तर लडिरहेको लामो इतिहास छ । भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि गरेको अनवरत प्रयास र तानाशाहीबाट लोकतन्त्रतर्फको न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमणका लागि गरेको संघर्षका लागि उहाँलाई यो पुरस्कार दिइएको समितिले जनाएको छ ।

इन्जिनियरिङ र वित्तसम्बन्धी अध्ययन गरेकी माचादो राजनीतिमा आउनुअघि बालबालिकाको क्षेत्रमा काम गर्नुहुन्थ्यो । सन् १९९२ मा सडक बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्न अटेनेया फाउन्डेसन स्थापना गर्नुभएको थियो । पछि उहाँले स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रवर्द्धनका लागि सुमाते नामक संस्थाको स्थापना गर्नुभयो ।

उहाँ सन् २०१० को संसदीय निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो । सन् २०१२ मा राष्ट्रपति पदको चुनावमा उहाँ उम्मेदवार बन्नुभएको थियो । सन् २०१२ मा स्थापना गरिएको भेन्ते नामक मध्यम दक्षिणपन्थी दल स्थापना गरेर राष्ट्रिय संयोजक हुनुभयो।

सन् २०१७ मा उहाँले सोय भेनेजुएला गठबन्धन स्थापना गर्न भूमिका निर्वाह गर्नुभएको थियो । यो गठबन्धनकै कारण भेनेजुएलाको विभाजित राजनीतिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएको थियो ।

सन् २०२३ मा उहाँले २०२४ को राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको थियो। तर उहाँलाई उम्मेदवारी दिनबाट बञ्चित गरिएपछि विपक्षी दलका उम्मेदवार एडमुन्डो गोन्जोलेस युरुटियालाई समर्थन गर्नुभएको थियो । उहाँलाई बीबीसीले सन् २०१८ मा विश्वका सबैभन्दा प्रशावशाली र प्ररणादायी १ सय नेताको सूचीमा समावेश गरेको थियो ।

यस वर्ष नोबल शान्ति पुरस्कारका लागि ३ सय ३८ जनाको नाम दर्ता भएको थिए । जसमा २ सय ४४ व्यक्ति र ९४ संस्था थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update