Mero Chitwan
राजा महेन्द्रको अपत्यारिलो अवसान

२०२८ माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिब एक महिनाका लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गते राति हृदयाघातले राति ११ बजे निधन भयो । तर भोलिपल्ट बिहान ३.४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो । तर यो मृत्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्क प्रस्तुत गरे ।

राजा महेन्द्रका केही भिन्न प्रबृत्तिको चर्चा गरौ । 

आषाढ कृष्ण पक्ष नवमीको दिन १९७७ जेठ ३० गते शुक्रवार नारायणहिटी राजदरवारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मिएका युवराज महेन्द्रका दुबै आमाहरु भारत सीतापुरबाट बिबाह गरेर ल्याइएको हुँदा राणा परिवारसंग धेरै निकटता थिएन । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरवारभित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुदैनथ्यो । दरवारमा शिक्षकको रुपमा किर्तिराज दलीले दरवारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिराम पनि दरवारमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीततर्फ पनि रुचि देखाउन थालेपछि भुपालमानसिंहलाई शास्त्रीय संगीत सिकाउन लगाइयो । यसरी दरवारभित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।

पञ्चतन्त्रले जीवनलाई दुई विपरीत किसिमले बुझ्न सिकायो । कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा बिनम्र बन्न पनि सिकायो । कणिक नीतिका कथाहरु र शिक्षाहरुलाई बाल्यकालमा ध्यानसंग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रुपले कणिक नीतिका नियमहरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसंगको युद्धमा कणिकको सल्लाहमा नै कौरवहरुले कणिकको सल्लाह नै लिने गर्दथे । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यसमा राजनीतिमा बिरोधीसंग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।

घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छँदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भएपछि दरवारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरवारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरबारभित्र नै रहने हुँदा रम्बा गुरुङसंग निकट हुँदा गर्भवती बनाउन पुगे । दरवारमा जस्तो परिस्थिति भए पनि भ्रुणहत्या गरिँदैनथ्यो । जसले गर्दा रम्बालाई दरबारले ल्याइतेको रुपमा स्वीकार गर्‍यो।  केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइतेसरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरवारले चार जना नोकरसहित बार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।
यसरी दरवारभित्रकी सेविकासंग नै लसपस भेटिए पछि युवराजको बिबाह श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी इन्द्रराज्य लक्ष्मीसंग १९९७ बैशाख २६ गते गराइ दिए । बिबाहको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडि युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो ।

युवराज्ञी इन्द्रसंगको विवाहपछि युवराज महेन्द्रले युवराज्ञी इन्द्रको सम्झनामा गोकर्णको जंगलभित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तिको आश्रयस्थल भन्दथे । यही बेलाबेला साली रञ्जना पनि दिदीको साथ पुग्थिन्। अचानक दिदी इन्द्रको देहावसानपछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । बाबुसंग निहुँ खोज्दै साली रञ्जनासंग विवाह गर्ने जिद्दी गर्न थाले । बाबुले पहिलो विवाह तत्कालीन राणा श्री ३ जुद्धको नातिनीसंग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकारविहिन भइसकेको हुँदा राणासंग दोश्रो विवाह नगराउने ठानिसकेका थिए । भोलि राजा बन्नुपर्ने युवराजका लागि भारतकै कुनै रियासतकी राजकुमारीसंग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन । छोराको जिद्दीपछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए ।

यता युवराज महेन्द्र पनि रञ्जनासंगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजीनामा दिइ साधारण जनतासरह रञ्जनासंग नै जीवन बिताउने ठानिसकेका थिए । बीचमा कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासंग विवाहका लागि मनाउन सफल भए । यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्ने विवादको आकलन गरि दोश्रो विवाहपछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ–विवाह पूर्व नै पाठेघर फ्याँक्न लगाए । यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माउने शर्त भने रञ्जनाले स्विकार गरेकी थिइन् । यसरी इन्द्र राज्य लक्ष्मीको देहावसानको दुइ वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा  अर्थात् रत्नसँग बिबाह गरे । राजा त्रिभुवन यस बिबाहका लागी भित्रदेखि नै खुशी थिएनन् । तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरुको साथ बागदरवारबाट रत्नलाई सिधै नागार्जुन दरवारमा लगेका थिए । नारायणहिटी दरवारमा शुरुमा स्वीकार गरिएन । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काइन् । 

राजा त्रिभुवनको भारत निर्वासन

२००७ सालमा राजा त्रिभुवन भारतीय राजदुत सिपिएन सिंहको गलत मनसायमा फसेर भारतीय राजदुतावासमा शरण लिन पुगे । यस अगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए । पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो । तर कांग्रेस सधै समयमा आबश्यक काम गर्न चुक्छ । हेलिकोप्टरको ब्यबस्था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदुतको चंगुलमा फसे । यहीँ नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य थियो । यसपछि नेहरु आफ्नो षडयन्त्रमा सफल भए । नेहरुले न त राजा त्रिभुवनको साथ र विश्वास गरे । न त विपिलाई बलियो साथ र विश्वास गरे । नेपाललाई आफ्नो एक प्रान्त झै ब्यबहार गर्ने नेहरुले उत्तर प्रदेशका गृह सचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रुपमा नेपाल पठाए । त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा उनी नै सर्वेसर्वा थिए । अझ मातृका मन्त्रिमण्डलको समयमा त सरकारी उच्च तहका ३०० कर्मचारी भारतीय थिए । मातृकाले नेहरुको सल्लाहमा एनएम बुचको एक आयोग गठन गरि उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ती दिएका थिए । करिब ३ वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषदको एक बैठक दिल्लीमा राख्न पनि सफल भएका थिए । साथै नेपालको सैनिकहरुको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए । यो सबै बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए । राजा महेन्द्रले राजगद्धी सम्हाले पछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए । तत्कालीन समयमा नेहरुले लेखेका पत्रहरुको चाङ नै अहिले पुस्तकका रुपमा आइसकेको हुँदा पनि नेहरुका तत्कालिन मनसायहरु अहिले सहजै पढ्न र बुझ्न सक्छौ ।

युवराज महेन्द्र राजा बनेपछि

उपचार गर्दा गर्दै पनि २०११ फागुन ३० गते अचानक स्विटजरलैण्डमा राजा त्रिभुवनको देहान्त भयो । युवराज महेन्द्रको काँधमा सिङ्गो राष्ट्रको बोझ आइपुग्यो, उनी राजा बने । देशमा राणाबाट मुक्तिपछि राजनीति गतिलोसंग गर्न जान्ने राजनेता जन्मिएका थिएनन् । एक अर्कोमा आक्षेप र खिचातानीमा नै समय बितिरहेको थियो । आफ्नो देशबाट राणाशासन हटाउनको लागि भारतको सहयोग लिएको हुँदा भारतले आफ्नो हैकम दरवारमा तथा राजनैतिक कार्यकर्ता बीचमा पनि बढाउन थालेको थियो । यसरी भारतको दवदवाको बिरोधमा नयाँ राजा महेन्द्रले कदमहरु चाल्न थालिहाले । हुन त राजा त्रिभुवन जीवितै रहँदा पनि युवराज महेन्द्रले भारतको दवदवाको विरोधहरु गरि नै रहेका थिए । बाबु राजा हुने समयमा नै भारतको विशेष गरेर नेहरुको नीतिको विरोध गर्दै आएका राजा महेन्द्रले आफ्नो शासनकालमा अझ बढि भारत तथा नेहरुकै उपेक्षा गर्न थाले । बिकासको लागि विश्वभ्रमण गर्न थाले । बिभिन्न देशसंग सहयोगको लागि आह्वान गर्न थाले । 

राजगद्दी सम्हालेको ५ महिनामा नै २०१२ साउन १७ गते चीनसंग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । शासनसम्हालेको एक वर्ष भन्दा कम अवधिमा नै २०१२ असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बीचको सामंजस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । २०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनीतिज्ञहरुको पहिलो जमघट हो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनयिकहरुलाई बिशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।

देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यसबीच मातृकाप्रसाद कोइराला दुइ पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौ टिक्न दिएनन् । २००७ साल देखि २०१७ सालको बीचमा दलीय राजनीति निकै तल्लो स्तरको थियो । दाजुभाइ नै मिल्न सकेनन् दुबैलाई मिलाउने कांग्रेसी कार्यकर्ता भारतका नेतालाई गुहार्न सम्म पुगे ।

देशमा प्रजातान्त्रिक सरकार बनेपछि राजा लामो बिदेश भ्रमणमा निस्केका थिए । विश्व राजनीतिलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको बिपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए ?

देशका जनतासंग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो घाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्व पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्व देखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।

भनिन्छ त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान । जसलाई केही वर्गले सहजै स्वLकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आबश्यक कदम चाल्थे ।

यसपछि भारत अझै राजा महेन्द्रसंग चिढियो । बिभिन्न उद्योगहरुको स्थापनाको लागि चीन तथा रुसको सहयोग लिए । नेहरुले विरोध गरिरहे तर महेन्द्रले आफ्नो गति रोकेनन् । यसरी भारतले महेन्द्रको आफ्नो नेपालप्रति दमनको नीतिको विरोधीको रुपमा लिन थाले । नेपाली कांग्रेसले सधै भारत आफ्नो हितमा रहेको ठानिरह्यो। तर नेहरुले कहिल्यै वीपि प्रति सहयोगी र सद्भाव राखेनन् । राजा महेन्द्रको १७ सालको कदमको भित्रि रुपमा सहयोग नेहरुको पनि थियो ।

दुइ दिन अगाडिमात्र भारतीय सेना प्रमुख ठिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदम पछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्चिएपछि भारतको संसदमा नेहरुले बोल्ने क्रममा एक सांसदले नेपालका राजालाई धन्यवाद र बधाइ दिनुपर्छ सम्म भनेका थिए । साथै ठिमैयाको पक्षमा नेहरुले भनेका थिए, उनी सम्मानको कार्यक्रममा पुगेका थिए तर अचानक राजाले यस्तो कदम चाले । यसमा ठिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन । तर अनौठो संयोग वा योजना थियो त्यसबेला । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदुत हरिश्वर डोयाल, भारतीय सेना प्रमुख जनरल ठिमैया र नेपालका सैनिक प्रमुख निरशम्शेर चितवनमा थिए । पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल ठिमैयाको हात नेहरुलाई सम्पूर्ण जानकारी सहितको पत्र पठाएका थिए । तर नेहरुले सो पत्र पुस ४ को बिहान मात्र पाए । पछि राजासंगको भेटमा नेहरुले वीपि सरकार मात्र अपदस्थ गरेर संसद भंग नगरेको भए हुने भनेका थिए भनिन्छ ।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधीमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधिमा नेपालमा जुन किसिमको बिकासका पूर्वाधारहरु बने यसले पछि सम्म बिकासका लहरहरु नै चले । गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरुको दुख सुन्ने परिपाटी उनले शुरु गरेका थिए । जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे । 

 २०२८ माघ ३ गते लामो छुट्टी मनाउने उद्देश्यले चितवन लागेका थिए । प्रधानमन्त्री किर्तीनिधि  विष्टलाई माघ महिनाको मन्त्रीपरिषदको बैठक दियालो बंगलामा नै गर्ने पनि जानकारी दिएका थिए । साथै राजा यो छुट्टीमा देशको निकासका लागि केही गहन निर्णय गर्ने मनसायले बिचार विमर्ष गर्न पनि एकान्त खोज्दै थिए । चितवन जाँदा उनमा कुनै पनि किसिमको शारिरीक समस्या थिएन । साधारण अवस्थामा छुट्टीमा चितवन पुगेका राजा केही दिन आफूलाई ब्यस्त राख्न शिकारमा पनि गएका थिए ।

२०२६ सालमा राजा महेन्द्रले राजधानी बाहिर नेपालकै मध्य भाग पर्ने गरि महेन्द्र राजमार्ग नजिकै शीतकालीन दरवारको रुपमा दियालो बंगला बनाएका थिए । यो दरवार धार्मिक रुपले पनि महत्वपूर्ण देवहरुको भूमी देवघाटनजिक बनाइएको थियो । चारकोशे झाडीको जंगलको एक भाग भित्र जीवनको उज्यालोको आशाको स्वरुप बनाइएको थियो दियालो बंगला । 

२०२८ सालको असोज १९ गते देखि २९ गतेसम्म रौटहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो । यस पछि नेपालका जनजातीका अगुवाहरुको रुपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथ लगायत थुप्रैसंग इन्दिरा गान्धीले भेट गरेकी थिइन्ए । देशमा जातीय द्वन्दको तैयारी इन्दिरा गान्धीले गराउन चाहेको छनक पाएका थिए, राजा महेन्द्रले । जुन बेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरु इन्दिरा गान्धीसंग गोप्य छलफलमा ब्यस्त थिइन् त्यही समय नै चितवनमा राजा महेन्द्रको देहान्त भएको थियो । नेपालमा पहिलो पटक भएको जातीय दंगामा ५१ ब्यक्तिको हत्या भएको थियो भने १८७४ घर जलाइएको थियो । यसको पिडा पनि राजा महेन्द्रलाई गहिरोसंग लागेको थियो ।

यस्तैमा माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रीपरिषदको बैठकमा पनि भारतपरस्त एक दुइ मन्त्रीबाट केही बिरोधका आवाजहरु आएका थिए । राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए । दलविहिन राजनीतिमा लागेको १० वर्ष भइसकेको हुँदा पनि देशमा बहुदलिय ब्यबस्थाको आबश्यकताको अनूभुति राजाले गरिसकेका थिए । बहुदलिय ब्यबस्थामा नेतृत्व भने बिपीलाई नै दिनुपर्छ भन्नेमा राजा निश्चिन्त थिए । राजाको आगामी योजना र नेतृत्वको आह्वान सहितको पत्र बोकेर श्रीभद्र शर्मा बिपी निर्वासन रहेको सारनाथ गइसकेका थिए । यसको जानकारी मन्त्रीमण्डलकै एक सदस्यले गोप्यरुपमा भारतलाई जानकारी पठाइएको आशंका गरिएको थियो । वास्तवमा भारत अझै पनि बिपीको नेतृत्व चाहदैनथ्यो । यस्तैमा माघ १७ को अर्को बैठक बस्नै नसकिने गरि राजा महेन्द्रको देहान्त भयो ।

राजा महेन्द्रको समयमा नै कीर्तिनिधि विष्टको सरकारले गरेको चीनिया नाका नजिकै रहेको भारतीय चेकपोष्टहरु हटाएको थियो । २०२६ साल साउन १० गते राष्ट्रिय पंचायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराइ हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो । यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्र प्रति निकै रुष्ट भएको थियो । साथै कीर्तिनिधि विष्टले १९५० को सन्धीको कुनै औचित्य नरहेको भन्ने बक्तव्य समेत दिएका थिए । राणाशासन अझै केहि समय टिकाउन मद्दत गर्ने लोभ देखाइ नेहरुले मोहनशम्शेरलाई १९५० को सन्धीमा हस्ताक्षर गर्न लगाएका थिए । तर पछि नेहरुले नत राणालाई सहयोग गरे नत विपी र त्रिभुवनलाई नै सहयोग गरे । सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पुरा गरिरहे ।

नेहरुले शुरुमा सिक्किमलाई भारतमा गाभ्ने र त्यसपछि भारतले नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना बनाएका थिए । सन १९६८ मा भारतीय जासुसी संस्था रअ को गठन भएको थियो । यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए । काओ भारतीय जासुसको रुपमा परिचित भइसकेका थिए । जसले गर्दा काओ बिभिन्न षडयन्त्रमा अगाडि बढे । तराइ टुक्राउने भनक पाएका राजा महेन्द्रले तुरन्तै भारतीय चेकपोष्टहरु हटाउन लगाएका थिए । अचानक राजाको निधन भयो । उता भारतले सिक्किमलाई भारतमा विलय गरि छाड्यो ।  काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्दै थिए । अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो जसले गर्दा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउन बाध्य भइन् ।  सबै राजनैतिक कृयाकलाप तथा अन्य योजनाहरु सबै रोकिए । काओको नेपालको तराइ टुक्राउने योजना पनि टुहियो । जसले गर्दा नेपाल एउटा ठूलो संकटबाट बच्यो । अझै पनि भारत नेपालको तराइ टुक्राउने योजनामा नै रहेको देखिन्छ । काओसंगको कुराकानीका आधारमा एके यादवले आफ्नो पुस्तक मिसन रअमा  यसको उल्लेख गरेका छन् ।

यी त भए षडयन्त्रका हुनसक्ने कारणहरु । राजा महेन्द्रको केही समस्या स्वास्थ्यको पनि थियो । २०२४ सालमा पहिलो पटक हृदयघात भएपछि बेलायतमा उपचार भएको थियो । २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोकिइ उछिटिदा छर्राले रानी रत्नलाई चोट लागेको थियो । रानी रत्नको उपचार त्यसबेला नेपालमा नै गरिएको थियो । शाही चिकित्सक मेजर जनरल शुशिलचन्द्र हल्डरको बिशेष निगरानीमा उपचार भएको थियो । यस घटनाले पनि राजा महेन्द्रमा गहिरो चोट पुगेको थियो । २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा गोली बाघमा नलागि उल्टै बाघले राजालाई आक्रमण गर्न लाग्दा नजिकै रहेका सुरक्षाकर्मीले बाघलाई गोली हानेर मारेका थिए । बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए । यसपटक भारतीय चिकित्सकहरुले नै उपचार गरेका थिए । 

सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेश्रो पटक माघ १६ गते राती हृदयघात भएको भनियो । जसको कारणले १७ गतेको बिहान ३:४५ मा निधन भएको जानकारी गराइयो । तर विवरणहरु अनुसार भने राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि आएका थिए । यदि एमएल भाटिया पनि उपचारमा संलग्न थिए भने राजा महेन्द्रलाई ब्यथाले केही दि अगाडि नै समाएको हुनुपर्छ । शाही चिकित्सक सुशिलचन्द्र हल्डरले उपचार गरेका थिए । रानी रत्नको समेत उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए । सेनामा उपरथी मेजर जनरल रहेका उनलाई रानी रत्नको सफल उपचारका लागि अति सुविख्यात सेवालंकार समेत दिइएको थियो । उनका साथै अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए । यसरी स्वदेशी बिशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्सका प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो । उनको उपस्थिती नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो । उनको आगमन पछि नै राजाको देहान्त हुँदा उपचारमा लापरवाही वा षडयन्त्र भएको धेरै आशंका भयो ।

डाक्टर भाटिया एम्समा पहिलो पटक पेसमेकर प्रत्यारोपण गर्ने चिकित्सक हुन् । सन १९६५ बाट पेसमेकर प्रत्यारोपण मात्र गर्दै थिए । तसर्थ कतै दियालो बंगलामा सिमित श्रोत र साधनका बीच पनि उनले अप्रेशन गर्ने कतै प्रयास त गरेनन् । जसको कारणले राजा महेन्द्रको देहान्त भयो । यदि राजा महेन्द्र गम्भीर हृदयघातबाट पिडित थिए भने किन तत्कालै सुविधा सम्पन्न अस्पतालमा लगिएन । किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्यो ।

अर्को प्रसंग जोन कोपम्यानको पनि आउने गर्दछ । उनको बिबादास्पद भनाइ आएको थियो, राजा महेन्द्रलाई हृदयाघात हुँदा कोपम्यान र राजा दुइजना संगै थिए । उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए । जोन कोपम्यानलाई कतै कतै सीआइएको एजेन्टको रुपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ । यदि यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसंग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो । साथै राजा महेन्द्रको देहावसान पछि कोपम्यानले नेपाल सदाको लागि छोडेर गए ।

जोन कोपम्यान अचानक २०२९ सालमा नेपालबाट पलायन भए । उनले चलाइरहेको होटल टाइगर टपको जिम्मा उनले जिम एडवर्डसलाई दिएका थिए । २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा जोन भर्नान कोपम्यानले होटल टाइगर टप चलाउन १५ वर्षको लागि चितवनको जंगलको बिचमा रहेको १७० एकड जमिन होटल सञ्चालनको लागि तथा जंगलको १००० वर्गमाइल क्षेत्र अन्य प्रयोजनका लागि लिएका थिए । जोन कोपम्यानले आफ्ना दुइ लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई लिएका थिए । तर १५ वर्षको लागि होटल सञ्चालनको जिम्मा लिएका कोपम्यान राजाको देहावसान पछि जिम एडवर्डसलाई जिम्मा लगाएर नेपालबाट बाहिरिए ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको बिकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ती उद्योग कलकारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । नेपाल स्वतन्त्र राष्ट्र नै होइन भनेर संयुक्त राष्ट्र संघको सदस्यताको लागि नेपालले गरेको अनुरोधमा भिटो लगाउने रुसले राजा महेन्द्रको भ्रमण पछि थुप्रै उद्योग तथा सडकमा सहयोग गर्यो।  

इतिहासका अध्येता सुनील उलकको फेसबुकबाट साभार
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update