Mero Chitwan
इरानमाथि अमेरिका र इजरायलकाे आक्रमण,  ईरानी प्रत्याक्रमणले मध्यपूर्वमा त्रास

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका छन् । आक्रमणमा इरानमा ५१ जनाको मृत्यु भएको छ।

अमेरिका र इरानबीच आणविक वार्ता प्रयास भइरहेका बेला शनिबार इरानको तेहरानसहित पाँचवटा सहरमा मिसाइल आक्रमण गरिएको हो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान आक्रमणमा अमेरिकी संलग्नता पुष्टि गर्नुभएको छ । 

राष्ट्रपति भवन तथा गुप्तचर निकायको मुख्यालयलाई निशाना बनाएर आक्रमण गरिएको छ। त्यसक्रममा महत्वपूर्ण सरकारी कार्यालयमा क्षति पुगेको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि सर्वोच्च नेता अलि खमेनीलाई सुरक्षित स्थानमा सारिएको छ भने राष्ट्रपति मसूद पेजेस्कियन सुरक्षित रहेको इरानी समाचार समिति इर्नाले जनाएको छ । यो आक्रमणपछि मध्यपूर्वमा थप तनाव बढेको छ । 

इजरायलले यो आक्रमणलाई 'रोरिङ लायन' नाम दिएको छ । इजरायलले गत जुनमा इरानविरूद्ध गरेको आक्रमण पनि १२ दिन चलेको थियो । 

आक्रमणपछि इरानले पनि मध्यपूर्व स्थित अमेरिकी सेनाको बेसमा आक्रमण गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update