
गाजा । "मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ कि एक दिन मलाई टेन्टमा बस्न र काम गर्नुपर्नेछ, जहाँ पानी र बाथरूमजस्ता आधारभूत सुविधा पनि हुने छैनन्।"
पत्रकार अब्दुल्लाह मिक्दाद भन्छन्, "गर्मीमा यो टेन्ट निकै तातो हुन्छ र जाडोमा फ्रिजजस्तै हुन्छ।"
गाजाका पत्रकारहरू कपडा र प्लास्टिकबाट बनेका टेन्टहरूमा बस्छन् र काम गर्छन्, जुन प्रायः अस्पताल वरपर लगाइएका हुन्छन्।
काम गर्नका लागि उनीहरूलाई २४ घण्टा बिजुली र इन्टरनेट चाहिन्छ, तर गाजामा बिजुली काटिएको छ। त्यसैले उनीहरू अस्पताल नजिकै बस्छन्, जहाँ जेनेरेटरमार्फत् फोन र अन्य उपकरण चार्ज गर्न सकिनेमात्र बिजुली पाइन्छ ।
अन्तर्राष्ट्रिय मिडिया गाजाका स्थानीय पत्रकारहरूमा निर्भर छ, किनकि इजरायलले बीबीसीसहित अन्य विदेशी मिडियालाई गाजामा काम गर्ने अनुमति दिँदैन। केही अपवाद बाहेक, जब विदेशी पत्रकारहरू इजरायली सेनासँग हुन्छन्, त्यतिबेला मात्रै तिनीहरूलाई गाजामा प्रवेश दिइन्छ।
युद्धका कठिन र खतरनाक परिस्थितिहरूबीच पनि गाजाका पत्रकारहरू निरन्तर घटनाको कवरेज गर्दै आएका छन्। तर, उनीहरूले प्रायः फोटो र भिडियो पठाउन सक्दैनन्, जबसम्म उनीहरू अस्पताल नजिकै बनेका टेन्टमा फर्केर आउँदैनन्, जहाँ थोरै बिजुली र इन्टरनेट पाइन्छ।
प्यालेस्टीनी मिडिया दुनिया अल-वतन की पत्रकार हनीन हमदौना बीबीसीसहित अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि काम गर्छिन्।
उनी भन्छिन्, "अस्पताल नजिकै बस्दा हाम्रो कभरेज पनि छिटो हुन्छ। हामी घाइते, मृतक, अन्तिम संस्कार र अन्तर्वार्ता सीधै कभर गर्न सक्छौं।"
तर, अस्पताल नजिकै बस्नु पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी भने होइन।
"हामी सधैं निशानामा हुन्छौं"
इजरायल–गाजा युद्ध अक्टोबर २०२३ देखि जारी छ। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) का अनुसार २६ अगस्टसम्म यो युद्धमा कम्तीमा १९७ पत्रकार र मिडिया कर्मचारी मारिएका छन्। जसमध्ये १८९ जना केवल गाजामै मारिएका हुन्।
यो संख्या पछिल्ला तीन वर्षमा विश्वभर मारिएका पत्रकारहरूको कुल संख्याभन्दा बढी हो।
प्यालेस्टिनी जर्नालिस्ट्स सिन्डिकेटका सचिव अहद फरवानाले भने, "पत्रकार भएको नाताले हामीलाई लाग्छ कि हामी सधैं इजरायली सेनाको निशानामा हुन्छौं। हामी आफ्नै र परिवारको सुरक्षाबारे निरन्तर डरमा बस्छौं।"
गाजा क्षेत्रमा लगभग दुई वर्षदेखि लगातार हत्या, भोकमरी, डर र विस्थापन भइरहेका छन्, तर मिडिया कभरेजको आवश्यकता अझै कायम छ। पत्रकारहरू निरन्तर काम गर्दा थकित भएका छन्।
यसको परिणामस्वरूप पहिले कहिल्यै पत्रकारिता नगरेका गाजाका धेरै युवाहरू रिपोर्टर वा फोटो पत्रकार बन्न पुगेका छन्।
इजरायलले बारम्बार पत्रकारलाई लक्ष्य नबनाउने दाबी गरेको छ। तर अल–जज़िराका पत्रकार अनस अल–शरीफको मृत्युको जिम्मेवारी भने उसले स्वीकार गरेको थियो।
१० अगस्टमा इजरायली हवाई आक्रमणमा अनस अल–शरीफ आफ्नै मिडिया टेन्टमा मारिएका थिए। सो आक्रमणमा पाँच पत्रकार र अर्का एक व्यक्ति पनि मारिएका थिए।
इजरायलले दाबी गरेको थियो कि शरीफ हमासको "आतङ्की सेल" सँग जोडिएका थिए। तर शरीफले यसलाई अस्वीकार गरेका थिए। सीपीजेले भनेको छ– इजरायलले आफ्नो दाबीको कुनै प्रमाण प्रस्तुत गरेको छैन।
सीपीजेका सीईओ जोडी गिन्सबर्गले बीबीसीसँग भने, “यो एउटा प्याटर्न हो। हामीले पहिले पनि देखेका छौं– इजरायली सेनाले कुनै पत्रकारलाई मार्छ। त्यसपछि उसलाई आतङ्की भन्छ, तर प्रमाण पेश गर्दैन।”
२५ अगस्टमा खान युनिसको नासेर अस्पतालमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। मृतकहरूमध्ये अन्तर्राष्ट्रिय मिडियासँग काम गर्ने पाँच पत्रकार पनि परेका थिए।
यो आक्रमण दुई चरणमा भएको थियो। पहिलो आक्रमणमा घाइते भएकालाई उद्धार गर्न पुगेकाहरूमाथि दोस्रो आक्रमण गरिएको भिडियो फुटेजमा देखिन्छ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई “दुर्भाग्यपूर्ण घटना” भनेका थिए र छानबिन गर्ने बताएका थिए।
अल–अरबी टिभीका संवाददाता अब्दुल्लाह मिक्दाद भन्छन्– “जब तपाईं टेन्टमा काम गर्दै हुनुहुन्छ, तपाईंलाई कहिल्यै थाहा हुँदैन कि अर्को पलमा के हुन्छ। तपाईंको टेन्ट वा वरिपरि बम आक्रमण हुन सक्छ। तब तपाईं के गर्नुहुन्छ?”
उनले थपे, “थकाइका बावजुद क्यामेरासामु म पूर्ण रूपमा ध्यानकेन्द्रित र सतर्क रहनुपर्छ। तर सबैभन्दा कठिन कुरा हो– वरिपरिको परिस्थितिप्रति सचेत रहनु र सोच्नु, ‘मैले बसेको ठाउँलाई निशाना बनाइयो भने म के गर्न सक्छु?’ मेरो दिमागमा निरन्तर सयौं प्रश्न आउँछन्, तर कुनै जवाफ भेटिन्न।”
२२ अगस्टमा संयुक्त राष्ट्रसँग जोडिएको निकाय Integrated Food Security Phase Classification (IPC) ले गाजा सिटीमा भोकमरी पुष्टि गरेको थियो। गाजालाई चरण ५, अर्थात् ‘सबैभन्दा गम्भीर’ श्रेणीमा राखिएको छ। IPC का अनुसार गाजामा पाँच लाखभन्दा बढी मानिस “भोकमरी, गरिबी र मृत्यु” को स्थितिमा छन्।
संयुक्त राष्ट्रको जुलाई रिपोर्टले देखाएको थियो– गाजाका ३ मध्ये १ भन्दा बढी मानिस (३९%) लगातार धेरै दिनसम्म खानाबिना बाँच्न बाध्य छन्। पत्रकारहरू पनि त्यही अवस्थामा छन्।
स्वतन्त्र पत्रकार अहमद जलाल भन्छन्, “कहिलेकाहीँ पुरै दिन एउटा कप कफी, जिसमा चनाको पाउडर मिसाइएको हुन्छ वा चिनी विनाको चियासँगै काट्नुपर्छ।”
उनी भन्छन्, “अक्सर हामीलाई भयंकर टाउको दुखाइ र थकाइ हुन्छ। भोकका कारण हिँड्नै नसक्ने अवस्था हुन्छ, तर त्यसैबीच हामी काम गरिरहन्छौं, ताकि गाजाबाहिर खबर पुग्न सकोस्।”
जलाललाई आफ्नो परिवारसहित पटक–पटक विस्थापित हुनुपरेको छ। प्रत्येकपटक उनले खाना–पानी र आश्रयको संघर्षबीच पत्रकारिता निरन्तर गरेका छन्। उनको छोरालाई शल्यक्रियाको आवश्यकता छ, तर युद्धको कारण उपचार सम्भव भएको छैन। उनी आफ्नै बाध्यताबीच गाजाका बालबालिकाको पीडा रिपोर्ट गर्छन्।
उनले भन्छन्, “हामी एउटै समयमा खबरको हिस्सा पनि बन्छौं र त्यसलाई संसारभर पुर्याउने माध्यम पनि। सायद यही कारणले हामीलाई अझै बढी साँचो रूपमा कथा भन्न प्रेरणा दिन्छ।”
“मेरो मन चिरिन्छ जब साथीको मृत्युबारे समाचार बनाउनुपर्छ । मनमा आउँछ– अर्को नम्बर मेरो पनि हुनसक्छ... यो पीडाले मलाई भित्रैदेखि भरंग पार्छ, तर म क्यामेरासामु यसलाई लुकाएर काम गरिरहन्छु।”
“हामीले भावनाहरू व्यक्त गर्ने क्षमता गुमाएका छौं”
जर्मन पत्रिका डेर स्पीगल की संवाददाता गादा अल–कुर्द दुई वर्षदेखि गाजामा मृत्यु र भोकका समाचार कभर गर्दै आएकी छिन्। तर यसबीच उनले आफ्ना भावनाहरू व्यक्त गर्न सकिरहेकी छैनन्।
उनी भन्छिन्, “हामी कस्तो महसुस गरिरहेका छौं, भन्ने सोच्न पनि समय छैन।”
“यस युद्धले हामीलाई आफ्ना भावनाहरू व्यक्त गर्ने क्षमता गुमाइदिएको छ। हामी निरन्तर आघातको अवस्थामा छौं। सायद युद्ध सकिएपछि मात्रै त्यो क्षमता फर्किएला।”
गादाका दुई छोरीहरू छन्। युद्ध सुरु हुँदा नै उनले आफ्ना दाजु र उनको परिवार गुमाएकी थिइन्।
उनले भनिन्, “यस युद्धले हाम्रो मानसिकता र व्यक्तित्व नै परिवर्तन गरिदिएको छ। युद्ध सकिएपछि फेरि पहिले जस्तै बन्न लामो समय लाग्नेछ।”
अन्तर्राष्ट्रिय दबाब
२७ मुलुकहरू– बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया र जापानसहितले बयान जारी गर्दै इजरायलसँग माग गरेका छन् कि विदेशी पत्रकारलाई तुरुन्त गाजामा प्रवेश दिइयोस्। पत्रकारहरूको अधिकार र सुरक्षाका लागि वकालत गर्ने मिडिया फ्रीडम कोएलिशन ले पनि पत्रकारमाथिका आक्रमणको निन्दा गरेको छ। उसले भन्यो– गाजामा काम गरिरहेका पत्रकारलाई सुरक्षाको व्यवस्था मिल्नैपर्छ।
बीबीसी हिन्दीबाट अनुदित