Mero Chitwan
थाइल्यान्ड र कम्बोडियाबीच सैन्य झडप,  कम्तीमा १२ जनाको मृत्यु

काठमाडौँ — दक्षिणपूर्वी एसियाली देशहरू थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप सुरु भएको हो । कम्बोडियाले भने अहिलेसम्म के कति क्षति भयो जानकारी दिएको छैन । झडपसँगै थाइल्यान्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ ।

त्यस्तै कम्बोडियाले पनि थाई सेनाले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । दुवै मुलुकले सीमा क्षेत्रका नागरिकलाई सुरक्षित स्थलमा सर्न आग्रह गरिसकेको छ । थाइल्यान्डले करिब ४० हजार नागरिकलाई सुरक्षित स्थानमा सार्दै छ । सीमा क्षेत्रमा पर्ने सुरिन, सिसाकेत र बुरिराम प्रान्तका झन्डै ६ सय विद्यालय बन्द गरिएको थाई एनक्वायररले जनाएको छ ।

थाई अधिकारीहरूका अनुसार ८ वर्षीय बालकसहित ११ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको छ । थाइल्यान्डको राष्ट्रिय सुरक्षा परिषद्(एनएससी) ले बिहीबार कम्बोडियाको सेनाले ड्रोन हमला पनि गरेको दाबी गरेको छ । कम्बोडियाले बीएम-२१ रकेटसमेत प्रहार गरेको थाइल्यान्डको आरोप छ । कम्बोडियाले भने थाई सेनाले नै संघर्ष सुरु गरेको आरोप लगाएको छ ।

कम्बोडिया र थाइल्यान्डबीच झन्डै सय वर्षदेखि सीमा विवाद थाती रहेको छ । कम्बोडिया सन् १९५३ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । त्यतिबेलै दुई देशबीचको सीमारेखा कोरिएको थियो । सन् २००८ मा कम्बोडियाले ११औं शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा दर्ताको प्रयास गरेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको हो । त्यसयता दुई देशबीच बेलाबेला झडप हुने गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update