
काठमाडौं । इजरायलले शुक्रबार एकाबिहानै इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुवै मुलुक युद्धको स्थितिमा पुगेका छन् ।
इजरायलले शुक्रबार गरेको हमलामा परी इरानी सेनाका वरिष्ठ अधिकारीहरुसहित ७० भन्दा बढीको मृत्यु भएपछि इरान पनि प्रत्याक्रमणमा उत्रिएको छ । इरानले पनि अपरेशन टु प्रमिसअन्तर्गत सयौं ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको छ । शुक्रबार राति इरानले गरेको मिसाइल हमलामा तेल अभिभमा थुप्रै घरहरुमा क्षति पुगेको जनाइएको छ । तेलअभिभ, जेरुसलेमसहित कयौं शहरमा बिस्फोटका आवाज सुनिएका छन् । इरानी हमलामा ४० इजरायली घाइते भएको जनाइएको छ ।
इजरायलको आक्रमणमा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनी गार्ड्सका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन् । इरानको नातान्जस्थित आणविक प्रशोधन केन्द्रलक्षित आक्रमणमा ६ आणविक वैज्ञानिकको समेत मृत्यु भएको छ ।
इजरायलको हमलामा परी शुक्रबार साँझसम्म ७० जनाभन्दा धेरै आफ्ना नागरिकको ज्यान गएको इरानी पक्षले जनाएको छ । इरानको प्रमुख आणविक प्रशोधन केन्द्र ध्वस्त पारिएको इजरायली सेनाको दाबी छ