Mero Chitwan
एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु  भन्छन्- चमत्कार भयो
स्रोत-बीबीसी हिन्दी

काठमाडौँ। भारतको गुजरातीसथत अहमदाबादबाट लण्डनको ग्याटविकका लागि उडेको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परी २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

१२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार रहेको विमानका ३७ जना यात्रु तथा चालक दलका सदस्यहरूको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ। तर, यस दुर्घटनामा एक यात्रु रमेश विश्वास कुमारको भने जिवितै उद्दार भएको छ।

अस्पतालमा उपचार गराइरहेका कुमारले भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै ‘विमान दुर्घटना भएलगत्तै ठूलो विस्फोट भयो। चारैतिर आगोको लप्का थियो। एम्बुलेन्सले मलाई तत्काल अस्पताल ल्यायो। अहिले पनि म आफू जीवित छु भन्नेमा विश्वास गर्न सकिरहेको छैन। यो मेरो लागि कुनै चमत्कारभन्दा कम छैन।’ भन्दै प्रतिक्रिया दिएका छन्।

विमान बिहीबार दिउँसो १ः३९ बजे टेकअफ गरेको केही मिनेटमै अहमदाबादको मेघानी नगरस्थित बीजे मेडिकल कलेजको मेस भवनमा ठोक्किएको थियो। त्यसपछि विमान नजिकैको अतुल्यम नामक छात्रावाससँग ठोक्किँदा ठूलो आगलागी भएको थियो। आगोका कारण विमान पूर्ण रूपमा ध्वस्त भएको थियो।

अहमदाबाद प्रहरी कमिश्नर जीएस मलिकले दुर्घटनाको पुष्टि गर्दै दुर्घटना निकै भयानक रहेको बताए। ‘घटनास्थलको अवस्था हेर्दा कसैको बच्ने सम्भावना निकै न्यून थियो। रमेश विश्वास जिवित रहनु एकदमै असाधारण हो।’ उनले भने।

हाल घटनास्थलमा प्रहरी, सेना र उद्धार टोलीहरू खटिएका छन्। उद्धार र खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। विमान दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update