Mero Chitwan
हार्वर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले हार्भर्ड विश्वविद्यालयमा अध्ययन वा शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी हुन चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्   ट्रम्पद्वारा जारी आदेशमा हार्भर्डलाई विदेशी विद्यार्थी लिइरहन दिँदा त्यसले राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्ने उल्लेख गरिएको छ । 

यो आदेश प्रारम्भमा ६ महिनाका लागि लागू हुने र पछि समय थप्न समेत सकिने बताइएको छ ।

राष्ट्रपतिलाई अमेरिकी हितका लागि हानिकारक हुन सक्ने विदेशीको प्रवेश रोक्न सक्ने अधिकार दिने एउटा संघीय कानुनको प्रावधानलाई प्रयोग गर्दै ट्रम्पले यस्तो आदेश दिनुभएको हो । हार्भर्डसम्बन्धी उक्त आदेशमा आतंकारी संगठनसँग आबद्ध विदेशीको प्रवेश निषेध गर्नेसम्बन्धी कानुनको समेत उल्लेख गरिएको छ ।

हार्भर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिनबाट रोक लगाउने गरी आन्तरिक सुरक्षा मन्त्रालयले जारी गरेको आदेशलाई गत साता जिल्ला अदालतले रोक लगाइदिएको थियो । त्यही कारण बेग्लै कानुनको प्रयोग गरी ट्रम्पले हार्भर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई रोक्नुभएको हो ।

हार्भर्डले एक अर्को गैरकानूनी प्रतिकारात्मक कदम भन्दै ट्रम्पको नयाँ आदेशको आलोचना गरेको छ ।

विदेशी विद्यार्थीका गतिविधि लगायतका विषयको जानकारी उपलब्ध गराउन दिइएको आदेश अस्वीकार गरे यता ट्रम्प प्रशासन र हार्भर्डबीचको सम्बन्धमा तिक्तता आएको हो । प्रतिकारस्वरूप ट्रम्प प्रशासनले हार्भर्डलाई दिइँदै आइएको अर्बौं डलरको सहायता रोक्का गर्नुका साथै विदेश विद्यार्थी भर्नाको अधिकार समेत खोस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update