काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवादको मूल जरोका रूपमा रहँदै आएको कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव गरेका छन् ।
अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तान चार दिन लामो सैन्य संघर्षलाई रोक्न सहमत भएको दोस्रो दिन आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै ट्रम्पले कश्मीर मुद्दाको समाधानका लागि दुवै देशसँग मिलेर काम गर्न तयार रहेको प्रस्ताव गरेका हुन् ।
ट्रम्पको यो प्रस्तावलाई अत्यधिक महत्त्व र चासोका साथ हेरिएको छ । ट्रम्पको यो प्रस्तावको पाकिस्तानले तत्काल स्वागत गरेको छ भने भारत यस विषयमा अहिलेसम्म मौन रहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले ट्वीट गर्दै दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि बृहत् भूमिका निर्वाह गर्ने अति मूल्यवान् प्रस्ताव भन्दै ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेका छन् । यस्तै पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण एसियाको शान्ति र सुरक्षामा गम्भीर प्रभाव पार्दै आएको दीर्घकालीन जम्मु कश्मीर विवादको समाधानका लागि सहयोग गर्ने राष्ट्रपति ट्रम्पको हामी प्रशंसा गर्दछौं भनेको छ ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रतासँगै भएको भारत पाकिस्तान विभाजनदेखि नै कश्मीरको विषयलाई लिएर यी दुई राष्ट्रबीच दुई ठूला युद्ध र एउटा क्षेत्रीय युद्धका साथै थुप्रै द्वन्द्व र झडपहरू भएका छन् । कश्मीरको केही भूभाग आफ्नो नियन्त्रणमा लिए पनि दुवै देशले समग्र कश्मीरमाथि नै आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन् ।
भारतले कश्मीरको विषय दुई देशबीचको आन्तरिक मामिला भएको भन्दै यस विषयमा बाह्य देशको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तानले भने यसलाई जहिले पनि अन्तर्राष्ट्रियकरणको प्रयास गर्दै आएको छ ।
उता भारत र पाकिस्तानबीचको संघर्षविराम शनिबार राति भएका उल्लंघनका केही घटना बाहेक आइतबारदेखि भने कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।