Mero Chitwan
भारत-पाकिस्तान सीमा क्षेत्रमा शुक्रबार पनि गोलाबारी

एजेन्सी–भारत कश्मीरको जम्मु शहरमा आज पनि गोलाबारी सुरू भएको छ। कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो।

कुपवाडा, उरी र पुंछका कर्नह र तंगधार क्षेत्रमा साँझ ७:२० बजेतिर गोलाबारी सुरु भएको जनाइएको छ । 

समाचार एजेन्सी एएनआईका अनुसार, उरी सेक्टरमा गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो। यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । 

यसअघि आज भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन्। उनका अनुसार बिहीबार राति पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोनबाट आक्रमण भएको थियो । 

तर पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरेका छन् । 

यस्तै जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा  लेखेका छन् - जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ लेखेका छन्।

उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ। शहरभरि साइरनको आवाज सुनिन थालेको छ।’

मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन्।

‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु  कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्,’ उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ।

यस्तै भारत र पाकिस्तानबीच जारी तनावलाई ध्यानमा राख्दै, भारत सरकारले देशका २४ विमानस्थलहरूमा घरेलु उडानहरूको आवागमनमा प्रतिबन्ध मे १५ सम्म बढाएको छ । सीमावर्ती र संवेदनशील क्षेत्रहरूमा रहेका विमानस्थलहरूमा जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चंडीगढ़, भुज, जामनगर, राजकोटका एयरपोर्टहरू समावेश छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update