
काठमाडौं । भारत-पाकिस्तानबीच तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका २४ जिल्लामा उच्च निगरानी गरिएको छ । यस्तै भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गृहमन्त्रालयले भारतसँगको सीमा जोडिएका जिल्लाहरुमा सशस्त्र प्रहरी बलले निरन्तर गस्ती बढाइरहेको जानकारी दिएको हो । सशस्त्र प्रधान कार्यालयले २४ सै घण्टा गस्ती गर्न निर्देशनसमेत दिएको छ । त्यस्तै, नेपाल प्रहरीले पनि सीमा नाकाबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विषेश निगरानी गर्न निर्देशन दिएको छ ।
नेपाल प्रवेश गर्ने र भारत जाने दुवैको सुरक्षा जाँच गरिरहेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग पनि समन्वय गर्न भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा प्रमुखहरुसँग निरन्तर सीमा र काठमाडौंसहित मुख्य शहरहरुको सुरक्षा अवस्थाबारे जानकारी लिइरहेका छन् । नेपाली सेनाले भारत-पाकिस्तानमा बढ्दै गएको तनावबारे आफू जानकार रहेको जनाएको छ ।
दुई देशको द्वन्द्वले नेपालमा आउने ढुवानी प्रभावित हुन सक्नेतर्फ पनि सरकारले सुरक्षा निकायसँग जानकारी लिएको हो । भारतसँग सीमा जोडिएका २४ जिल्लामै उच्च निगरानी राखिएको सशस्त्रले जनाएको छ ।
सशस्त्रले भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रवेश गर्न सक्ने मधेश प्रदेश अन्तर्गतका भित्री बाटाहरु, पश्चिमको कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा जनशक्ति थप गरेरै गस्ती बढाइएको छ ।