
एजेन्सी-पहलगाम आक्रमणको बदलामा भारतले पाकिस्तानमा आक्रमण गरेको छ । गएराति पौने २ बजेतिर पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको भारतले दाबी गरेको छ ।
आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादका आतंकवादी ठेगानालाई निशाना बनाइएको हो ।
पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए ।
भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाइएको बताएको छ ।
यता पाकिस्तानी सेनाले भारतीय आक्रमणमा ८ पाकिस्तानी मारिनुका साथै ३५ जना घाइते भएको जनाएको छ। पाकिस्तानी सेनाले आक्रमणमा आफूहरुले ५ वटा भारतीय रकेट खसालेको पनि दाबी गरेको छ ।