Mero Chitwan
रामबहादुर बम्जन महोत्तरी कारागारको थुनामा

काठमाडौं- बाल यौनदूराचारको आरोपमा पक्राउ परेका  रामबहादुर बम्जनलाई पुर्पक्षका लागि महोत्तरी कारागार पठाइएको छ । जिल्ला अदालत सर्लाहीले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनविरुद्ध मुद्दाको सुनुवाइ गरेर पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । करिब ४ घण्टा चलेको बहसमा बादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अन्नत न्यौपानेले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट डा. कुन्साङ लामा, अजय तामाङ, महनिधि सेढाईं, अमृतकुमार लामा र दिलीपकुमार झाले बहस गरेका थिए ।

बहसपछि आरोपी बम्जनलाई ‘घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले’ पुर्पक्षका लागि थुनामा राख्न न्यायाधीश रेग्मीले आदेश दिए । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेका बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेस गरेको थियो । उनीविरुद्ध जिल्ला अदालतमा यौन तथा बाल यौनशोषणको आरोपमा मुद्दा परेको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।

सर्लाहीको पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो । २०७३ साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले अदालतको अनुमति लिएर प्रतिवादी बम्जनलाई पक्राउ गर्न भनिए पनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update