Mero Chitwan
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय , पुनरावेदन जाने दुवै पक्षको तयारी

काठमाडौँ-बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो ।

लामिछानेलाई ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला समेत भएको छ । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । 

अदालतले कैद र जरिवाना सुनाएपछि सन्दीप सम्पर्कविहीन छन् । उनले जिल्लाको फैसला चित्त नबुझाएमा उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । सन्दीपका कानुन व्यवसायीले अदालतको फैसलाको पूर्ण पाठ आएपछि पुनरावेदन जाने बताएका छन् ।

पीडितका कानुन व्यवसायीले पनि घटनाका बेला पीडित नाबालिग नै भएको भन्दै पूर्ण पाठपछि उच्च अदालतमा पुनरावेदन दिने बताएका छन् ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्न जमैका थिए । जाहेरी लगत्तै केही समय सम्पर्कविहीन सन्दीप असोज २० गते नेपाल फर्किँदा विमानस्थलबाटै पक्राउ परेका थिए। प्रहरी हिरासतमा राखेर अनुसन्धान गरी कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा पुर्पक्षका लागि सन्दीपलाई १८ गते थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई २०७९ पुस १८ गते देश बाहिर जान नपाउने सर्तसहित अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगेका थिए ।

दुवै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमतिसमेत दिएको थियो । २०७९ कात्तिक १५ गतेदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा २९ पटक पेसी तोकिएपछि गत पुस ८ गतेदेखि निरन्तर सुनुवाइ गरी फैसला भएको हो ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update