Mero Chitwan
भारतमा लाेकसभा चुनावअन्तर्गत तेस्रो चरणको मतदान जारी

काठमाडौं-भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान सुरु भएको छ ।  स्थानीय समयअनुसार बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ ।

१० राज्य र २ केन्द्रशासित प्रदेश गरी १२ प्रदेशका ९३ सिटका लागि मतदान भइरहेको हो । यो चरणमा एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन् । आज असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २६ मध्ये २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान भइरहेको छ । 

यस्तै जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेशका गरी तीन सिटका लागि पनि मतदान भइरहेको छ । 

आजको चुनावमा मध्यप्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान र कंग्रेसका अनुभवी नेता तथा पूर्वमुख्यमन्त्री दिग्विजय सिंह पनि आजको चुनावका हेभिवेट उम्मेदवार हुन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदावादबाट बिहान मतदान गरेका छन् । 

modi-1715050408.JPG

अप्रिल १९ मा पहिलो चरणअन्तर्गत २१ राज्यका १ सय २ सिटका लागि मतदान भएको थियो । पहिलो चरणमा साढे ६५ प्रतिशत मतदान भएको थियो भने दोस्रोमा १२ राज्य र एक केन्द्र शासित प्रदेशका ८८ सिटका लागि मतदान भएको थियो । दोस्रो चरणमा ६६ प्रतिशत मतदान भएको थियो ।  सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update