Mero Chitwan
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु

नयाँदिल्ली–भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको छ । आज १३ राज्यका ८८ लोकसभा सिटका लागि बिहान ७ बजेबाट मतदान भइरहेको हो ।  

दोस्रो चरणमा केरलाका सबै २० सिट, कर्नाटकको १४, राजस्थानको १३, मध्य प्रदेशको ६ र असमका ५ सिटमा मतदान भइरहेको छ । यस्तै, पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन तथा मणिपुर, त्रिपुरा र केन्द्र शासित जम्मू कश्मीरका एक–एक सिटमा मतदान भइरहेको छ।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी केरलाको वायनाड सिटबाट चुनावी मैदानमा छन् । वामपन्थीले एनी राजालाई र भाजपाले के सुरेन्द्रनलाई राहुल गान्धीविरुद्ध उम्मेदवार बनाएका छन् ।

ओम बिरला राजस्थानको कोटा सिटबाट लोकसभा सिटमा चुनाव लडिरहेका छन् । कांग्रेसले ओम बिरलाविरुद्ध प्रह्लाद गुञ्जाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेस नेता शशि थरुर केरलाको तिरुवनन्तपुरम सिटबाट चुनाव लडिरहेका छन् । यस सिटमा भाजपाले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरलाई टिकट दिएको छ ।

उत्तर प्रदेशको मेरठ सिटमा दोस्रो चरणको मतदान भइरहेको छ । यस सिटबाट भाजपाले रामायणका राम अर्थात् अरुण गोविललाई टिकट दिएको छ ।
यसअघि गत १९ अप्रिलमा लोकसभाको १ सय २ सिटमा मतदान भइसकेको छ । नतिजा भने ४ जनुमा घोषणा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update