Mero Chitwan
एमडीएच र एभरेष्ट मसलामा भेटियो क्यान्सर गराउने कीटनाशक औषधि, बिक्रीमा प्रतिबन्ध

हङकङ–भारतीय मसाला कम्पनीहरु एमडीएच र एभरेष्टको मसलामा क्यान्सर गराउन सक्ने कीटनाशक औषधि भेटिएपछि हङकङ सरकारले ती मसला प्रयोग नगर्न नागरिकलाई आग्रह गरेको छ ।

मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएपछि खाद्य सुरक्षा विभागले प्रयोग नगर्न आग्रह गरेको हो । 

यसका साथै ती कम्पनीका मसलाको बिक्रीमा प्रतिबन्ध लगाइएको छ । सिंगापुरमा पनि एभरेष्ट मसलाको फिस करी मसला बजारबाट फिर्ता गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ

हङकङको खाद्य सुरक्षा विभागको खाद्य सुरक्षा केन्द्रले एमडीएच मद्रासद्वारा उत्पादित करी पाउडर, साम्भर मसला मिक्स्ड पाउडर र करी पाउडरमा कीटनाशक एथिलिन अक्साइड पाइएको जनाएको हो। 

क्यान्सरमाथि अनुसन्धान गर्ने संस्थाले एथिलिनलाई ग्रुप वान कार्सिनोजेन समूहमा राखेका छन् । कार्सिनोजेन यस्तो पदार्थ हो, जसबाट क्यान्सरको खतरा हुन्छ । 

हङकङको खाद्य सुरक्षा केन्द्रले तीन वटा पसलबाट मसलाको नमुना संकलन गरेको थियो । त्यहाँ खाद्य पदार्थमा एथिलिन अक्साइडजस्ता कीटनाशक विषादी प्रयोग गरेको भेटिएमा ५० हजार डलरसम्म जरिवाना गर्ने  र ६ महिनासम्म जेल सजाय हुने प्रावधान छ । 

सिंगापुरको खाद्य विभागले पनि एथिलिन अक्साइड भेटिएको एभरेष्टको फिस करी मसला बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ । सिंगापुरमा उक्त कम्पनीको मसला मुथैया एन्ड सन्स प्रालिले आयात गर्ने गर्छ । विभागले एथिलिन अक्साइडको न्युन प्रयोगले तत्काल कुनै हानी नभए पनि लामो समयसम्म प्रयोगले स्वास्थ्यमा खतरा हुने जनाएको छ ।

masala-check-1713756227.jpg

एभरेष्टको मसला कम्पनी ५० वर्ष पूरानो मानिन्छ । एभरेष्ट कम्पनीले भनेको छ, ‘हाम्रो सबै उत्पादन कडा परीक्षणपछि तयार गरिन्छ, हामी सफाइ र खाद्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्छौं, साथमा इण्डियन स्पाइस बोर्डसहितका निकायद्वारा स्वीकृत प्राप्त छ ।’

के हो एथिनिल अक्साइड ?
एथिलिन अक्साइड एक रंगहीन र ज्वलनशील ग्यास हो, जसको प्रयोग कृषि, हेल्थकेयर, फूड प्रोसेसिङ उद्योगमा प्रयोग गरिन्छ । यसलाई मसला र अन्य सुख्खा खाद्य पदार्थमा माइक्रोबियल प्रदूषण समाप्त पार्न र कीरा नियन्त्रण गर्न प्रयोग गरिन्छ । ब्याक्टेरियाबाट खाद्य पदार्थ सुरक्षित राख्न पनि यो प्रयोग गििरन्छ । यसको खतरालाई दृष्टिगत गर्दै कतिपय देशले यसको प्रयोगमा कडा नियम बनाएका छन् । 

भारतीय मसलाबारे अमेरिकामा पनि प्रश्न
सन् २०२३ मा पनि अमेरिकी खाद्य सुरक्षा निकायले एभरेष्टको साम्भर मसाला र गर्म मसलालाई बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको थियो । त्यतिबेला यो मसलामा साल्मोनेला पोजेटिभ पाइएको थियो, जसले पखाला, पेट दुखाई, ज्वरो, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ ।

हालै पनि बेबी फुड निर्माता कम्पनी नेस्लेको एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेचिएको उत्पादनमा पनि अतिरिक्त चिनी पाइएको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update