Mero Chitwan
भारतमा पहिलो चरणको लोकसभा निर्वाचनमा ६० प्रतिशत मतदान

काठमाडौं । भारतमा १८औं लोकसभाका लागि शुक्रबार भएको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्ममा झन्डै ६० प्रतिशत मतदान भएको हो ।

लोकसभाको ५४३ सिटका लागि सात चरणमा चुनाव तय भएकामा आज पहिलो चरणमा २१ राज्यका एक सय दुई सिटका लागि मतदान सम्पन्न भएको हो ।

सबैभन्दा बढी त्रिपुरामा ८० तथा पश्चिम बंगालमा ७८ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम बिहारमा ४६ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतदान आगामी १ जुनसम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ । अन्यत्र शान्तिपूर्ण भए पनि मतदानका क्रममा मणिपुर, पश्चिम बंगाल र छत्तिसगढमा भने हिंसाका केही घटना भएका छन् । राजस्थानमा पनि फर्जी मतदानलाई लिएर झडप भएको थियो ।

आज उत्तर प्रदेशको आठ, बिहारको चार, मध्य प्रदेशको ६, राजस्थानको १२, उत्तराखण्डको पाँच, पश्चिम बंगालको तीन, असमको चार, मेघालयको दुई, अरुणाचलको दुई, मणिपुरको दुई, महाराष्ट्रको पाँच, र तमिलनाडुको ३९ सिटमा मतदान सम्पन्न भएको छ । यस्तै छत्तीसगढ, मिजोरम, नागाल्यान्ड, सिक्किम, त्रिपुरा, जम्मु कश्मीर, अन्डमान निकोबार टापु, लक्षद्वीप, र पुडुचेरीका एक-एक सिटमा मतदान भएको छ ।

आज मतदान भएका एक सय दुई सिटका लागि एक हजार ६ सय २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । लोकसभा निर्वाचनसँगै चार राज्य आन्ध्रप्रदेश, ओडिसा, सिक्किम र अरुणाचल प्रदेशमा विधानसभा निर्वाचनका लागि समेत मतदान भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update