Mero Chitwan
समलिंगी विवाहलाई पहिलो पटक कानुनी मान्यता

लमजुङ — विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले नेपालमै पहिलो पटक कानुनी मान्यता पाएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । दोर्दी–२ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेको बुधबार वडा कार्यालयले विवाह दर्ता गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । विवाह दर्तामा मायालाई दुलही र सुरेन्द्रलाई दुलहा उल्लेख गरिएको छ । 

काठमाडौं बस्दै आएका दुवैबीच कावासोतीमा ९ वर्षअघि चिनजान भएको थियो । मायाका अनुसार कावासोतीमा रहेको दिदीको खाजा पसलमा जाने क्रममा साथीको होटलमा काम सघाइरहेका सुरेन्द्रसँग भेट भयो ।

गत जेठमा समलिंगी विवाहलाई वैधता दिन माग गर्दै नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् । नीलहीरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

उक्त रिटमा सुनुवाइ गर्दै गत असार १२ मा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो । उत्प्रेषण जारी गर्दै संविधानअनुसार लैंगिक पहिचानसहित नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्ने, प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता रहेको र कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था भएकाले विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नू/गराउनू भनी अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update