Mero Chitwan
अमेरिकी डलर ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड

एजेन्सी-भियतनामकी अर्बपति एवं रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । 

सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको अदालतको ठहर छ । 

 अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् । 

ल्यानले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेकी थिइन् ।    प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ । 

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update