Mero Chitwan
सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं :  पूर्वराजा ज्ञानेन्द्र शाह

जुम्ला : पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदा-हुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन जुम्ला पुगेका पूर्वराजा शाहले नागरिकहरु खानकै लागि काम खोज्न भौंतारिरहेको देख्दा मनभरी पीडा हुने गरेको बताए । लामो समय जुम्लाको सौन्दर्यको बखान गरेका शाहले अब राष्ट्रको पुरानो गौरव फर्काउन सबै एक हुन अपिल गरे ।

आफ्नै पाखुराको बलमा अघि बढ्नुपर्ने समय आइसकेको स्मरण गराउँदै उनले यातायातको विकटता, हावापानीको जटिलता भएका क्षेत्रमा रहेको स्रोतको सही उपयोग गर्नुपर्नेमा जोड दिए ।

‘रोजगारीका लागि जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ शाहले भने, ‘यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन पीडादायी भए पनि सुखद हुने निश्चित छ । सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं ।’

उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे । पूर्वराजा शाहले भने, ‘पहिले राष्ट्रिय सोच बनाउँ । मार्ग सुधार गरौं । नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय सहमति गरेर नयाँ निष्कर्ष निकालौं यही नै देशको लागि भलाइ हुनेछ ।’

पूर्वराजालाई जुम्लाका बासिन्दाले नागरिक अभिनन्दनसमेत गरेका छन् । उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका गरेका थिए । जुम्ला विमानस्थलमा राजा आउ देश बचाउ, सिंहदरबार खाली गर, हाम्रो राजा आउँदै छ । राजा सबैका साझालगायतका नारा लगाइएको थियो । चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरिसकेपछि पूर्वराजा शाहले जिल्ला प्रशासन कार्यालयअगाडि बनाइएको मञ्चबाट सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update