Mero Chitwan
७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा पनि ताइवानमा क्षति कसरी कम भयो ?

काठमाडौं–ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो । यो ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प हो । भूकम्पका कारण ९ जनाको मृत्यु भयो भने करिब ९ जना घाइते भएका छन् । तर, तुलनात्मक रुपमा क्षति निकै न्यून रह्यो  । आखिर कसरी ? 

ताइवान भूकम्पको रिङ अफ फायर अर्थात् सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्र पर्छ, जहाँ विश्वमै सबैभन्दा धेरै भूकम्प आउँछ । यहाँ फिलिफिन्स सी प्लेट र युरेसियन प्लेट नामक दूई वटा टेक्नोटिक प्लेट आपसमा ठोक्किन्छन्, जसका कारण यहाँ कम्पन आइरहन्छन् ।

तर, यहाँ क्षति हुनुको कारण ताइवानको भूकम्पप्रतिरोधी कडा नियम नै रहेको मिसुरी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका भूकम्पविज्ञानका प्राध्यापक स्टीफेन गाओ बताउँछन् । यहाँ विश्वस्तरीय सिस्मोलोजिकल नेटवर्क छ भने भूकम्प सुरक्षाका विषयमा व्यापक जनचेतना अभियान चलाउने गरिन्छ । 

सरकारले नयाँ र पूराना दुवै खाले भवनका लागि अनिवार्य भूकम्पप्रतिरोधक मापदण्डको नियमित अनुगमन गर्छ । यसका कारण निर्माणको खर्च बढे पनि भवन भूकम्पप्रतिरोधक बनाउने र प्रतिरोधक क्षमताको नियमित जाँच गराउन तयार नागरिकलाई अनुदान पनि दिन्छ । 

सन् २०१६ मा ताइनान शहरमा आएको भूकम्पका कारण १७ तले भवन ध्वस्त भएको थियो । तर, त्यतिबेला त्यही एउटामात्र भवन भत्किएको थियो । तर, पछि उक्त भवन निर्माणमा लापरबाही भएको ठहर गर्दै सरकारले ५ जनालाई जेल सजाय दिएको थियो ।

यसका अलावा विद्यालय तथा सरकारी कार्यालयहरुमा नियमित रुपमा ड्रिल गराइन्छ र सरकारी मिडिया तथा मोबाइल फोनमा नियमित रुपमा भूकम्प सुरक्षाको सन्देश प्रसारण गराइन्छ । जसका कारण भूकम्पको विनाशकारी क्षति र मृत्युको न्यूनीकरण हुने गरेको प्राध्यापक गाओको भनाइ छ ।

२१ सेप्टेम्बर १९९९ मा  आएको ७.७ म्याग्निच्युडको भूकम्पका कारण २४०० मानिसको मृत्यु भएको थियो भने १ लाख घाइते भएका थिए । तर, यसबाट शिक्षा लिएर क्षति न्यूनीकरणका लागि कैयौं कानुनी सुधार गरियो भने प्रशासनिक परिवर्तन पनि गरिएको नर्थ इस्टर्न युनिभर्सिटी का प्राध्यापक डेनियल अल्ड्रिचको भनाई छ ।

ताइवान सरकारले डिजास्टर प्रिभेन्सन एण्ड प्रोटेक्सन एक्ट पारित गरेको छ भने भूकम्पसम्बन्धित समन्वय र प्रशिक्षणका लागि द्ुई वटा राष्ट्रिय केन्द्र बनाएको छ । प्राध्यापक अल्ड्रिच भन्छन्–अहिलेको शक्तिशाली भूकम्पमा पनि क्षति न्युन हुनु त्यसैको नतिजा हो ।’
  
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update