Mero Chitwan
अमेरिकामा राष्ट्रपति चढ्ने विमानबाट चम्चा, प्लेटसमेत चोर्छन् पत्रकार

काठमाडौं–अमेरिकामा पत्रकारहरुमाथि राष्ट्रपतिको आधिकारिक विमानबाट सामान चोरीको आरोप लागेको छ । 

गत फेब्रुअरीमा राष्ट्रपति जो बाइडन अमेरिकाको पश्चिमी तटको भ्रमणमा गएका थिए । त्यसक्रममा एयरफोर्सले विमानको सामान गन्ने क्रममा कैयौं सामान गायब भएको फेला परेको थियो । जसमा तकियाको ब्रान्डेन कभर, ग्लास, सुनौलो प्लेट जस्तासामान गायब भएको पाइएको थियो । 

यो घटनापछि अधिकारीहरुले विमानबाट सामान चोर्न बन्द गर्न पत्रकारहरुलाई चेतावनी दिएका हुन् । ह्वाइट हाउसको रिपोर्टिङ गर्ने पत्रकारको संगठन द ह्वाइट हाउस करेस्पन्डेन्ट एशोसियसनले पनि पत्रकारलाई राष्ट्रपतिको विमानबाट सामान नलैजान चेतावनी दिएको थियो । 

गत महिना एशोसियसनले पत्रकारलाई इमेल लेखेर यस्तो व्यवहार प्रेस पुलका पत्रकारलाई नसुहाउने जनाएको थियो । राष्ट्रपतिसँगै यात्रा गर्ने पत्रकारलाई प्रेस पुल भनिन्छ । 

राष्ट्रपतिसँग यात्रा गर्ने पत्रकारलाई एम एन्ड एम ब्रान्डको चकलेट दिइन्छ, जसमा राष्ट्रपतिको आधिकारिक छाप लगाइन्छ । 

chocklet-1712022595.jpg
विमानमा पत्रकारलाई बाँडिने चकलेट । 

समाचारअनुसार राष्ट्रपतिको विमानबाट चम्चा, प्लेट, कचौरालगायतका अन्य सामान पटक–पटक हराउने गरेका थिए । भ्वाइस अफ अमेरिकाकी ह्वाइट हाउस सम्वाददाता मिसा कोमादोभ्स्कीले त राष्ट्रपतिको विमानबाट लगिएका सामानको कलेक्सन नै बनाएकी छन् । उनले बीबीसीसँग भनिन्, ‘यी सामान जम्मा गरेर न मैले गलत गरेकी छु, न कसैलाई लज्जित नै ।’ उनीसँग प्रेसिडेन्सियल चकलेटको एक प्याकेट पनि छ, जसमा बाइडनको हस्ताक्षर छ । 

राष्ट्रपति चढ्ने आधिकारिक विमानलाई एयरफोर्स वान पनि भनिन्छ र यसलाई हावामा उड्ने राष्ट्रपतिको कार्यालय पनि भनिन्छ । यो विमानमा ४ हजार वर्गफिटको फ्लोर स्पेस छ र तीन तलाको हुन्छ । यसमा एक ठूलो सुइट, एक अपरेटिङ टेबल, मेडिकल स्टेशन, सम्मेलन कक्ष, भोजन कक्ष, दुई वटा किचेन र १ सय जनालाई खाना खुवाउन मिल्ने हल छ । साथमा भीआइपी, सुरक्षा, सचिवालय र प्रेसका लागि विशेष क्षेत्र छ । यसमा सुरक्षा उपायका साथै  आक्रमणको सामना गर्नका लागि समेत तयार गरिएकाले सैन्य विमानका रुपमा समेत वर्गीकरण गरिन्छ । यसमा हावामै इन्धन भर्न सकिन्छ, ताकि असीमित समयका लागि उड्न सकोस्। बीबीसीबाट

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update