Mero Chitwan
दुई गजल

१. पहाड  उच्च शैलमा, मनास्लु टल्ल टल्कियो
 समग्र गोरखा अहा, खुलस्त सङ्ग झल्कियो

 हिमाल छन् पहाड छन्, विशाल टारका गरा
 हराभरा छ फाँट  झन्, मकै र धान हल्कियो 

 सुगन्ध  छर्न  बेसरी , कुदेर  मिर्ग  डुल्दछन्  
 जलाम्य ताल कुण्ड ती,चलेर सुस्त छल्कियो

  गुराँस फुल्दछन्  यहाँ , बसन्त  मुस्कुराउँदा
  प्रसन्न हुन्छ  मन्  यतै,खुशी  भएर पल्कियो 

 उभिन्छ  रङ्गमञ्चमा , लजालु  छैन गोरखा
नवीनता  छ  सोचमा, मनुष्य साथ ढल्कियो

(छन्द:- पञ्चचामर)

२. तिम्ले नछोड्नु पर्ने, दुख्यो नि हेर छाती
गाह्रो भएर ज्यादै , देख्थेँ म नित्य राति

रोगी भएर होला , लाग्थ्यो नि त्रास धेरै
विश्वासले म आएँ, छैनौ नि कत्ति घाती

एक्लै बसेर के भो, बस्छौं मिलेर फेरि
आशा अझै छ मेरो, मान्नेछु सानु जाती

गल्ती भए मलाई , माफी दिएर हेर
पूजा गरेर तिम्रो, छर्थेँ म फूल पाती ‌

जान्थेँ कमाइ गर्थेँ , पुग्नेछ टन्न खान
फर्केर फेरि आए , गर्थेँ अनेक भाँती

( छन्द:- दिक्पाल )
 

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update