Mero Chitwan
मस्कोको कन्सर्ट हलमा आतंकवादी आक्रमण,  ६० जनाको मृत्यु

एजेन्सी - मस्कोको एक लोकप्रिय कन्सर्ट स्थल परिसरमा शुक्रबार भएको आक्रमणमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन्।

शुक्रबार टेलिग्राममा आईएसआईएससँग सम्बद्ध समाचार एजेन्सी अमाकले प्रकाशित गरेको छोटो वक्तव्यमा आतंकवादी समूह आइसिसले आक्रमणको जिम्मेवारी लिएको छ। 

आक्रमण भएको ठाउँको भिडियो फुटेजमा धुवाँको मुस्लो हावामा उडिरहेको देखिएको छ। सशस्त्र व्यक्तिहरूले स्वचालित हतियारको साथ फायरिङ गरेको तथा ग्रिनेड वा आगजनी बम फ्याँकेपछि आगो सुरु भएको जनाइएको छ । घटनास्थलको छत आंशिक रूपमा ढलेको जनाइएको छ। म्युजिक ग्रुप पिकनिकको तयारी हुनुअघि नै आक्रमण भएको थियो। ब्यान्डका प्रबन्धकले कलाकारहरूलाई कुनै हानि नभएको बताएका छन् ।

आक्रमणपछि मानिसहरूको भीड एकै ठाउँमा जम्मा भएको, चिच्याइरहेको र कुसनका सिटहरू यत्रतत्र छरिएको देखिएको थियो । एक सशस्त्र व्यक्तिले बन्दुक चलाउँदै स्थल भित्र प्रवेश गरेको भिडियोमा देखिएको थियो । घटनापछि ७० भन्दा बढी एम्बुलेन्स टोली र डाक्टरले पीडितलाई सहयोग गरिरहेका थिए ।

करिब १०० जनालाई अग्निनियन्त्रकहरूले भवनबाट बाहिर निकालेका थिए ।

उद्धारकर्ताहरूले मानिसहरूलाई छतबाट निकाल्न काम गरिरहेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई भयानक त्रासदी भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणको बारेमा जानकारी गराइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update