Mero Chitwan
१६ महिनाकी छोरीलाई एक्लै छाडेर आमा घुम्न निस्किँदा...

एजेन्सी-अमेरिकाको ओहायोमा १६ महिनाकी छोरीलाई घरमा एक्लै छाडेर १० दिन घुम्न जाँदा बालिकाको मृत्यु भएपछि बालिकाकी आमालाई बच्चाको हत्यामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ ।

बालिकालाई घरमा एक्लै छाडेर गएपछि कैयन दिनसम्म केही खान नपाउँदा छटपटिएर बालिकाको मृत्यु भएको थियो । बालिकाकी आमालाई हत्यामा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाइएको छ ।

३२ वर्षीया क्रिस्टेल क्यान्डेलारियोले आफ्नी १६ महिनाकी छोरी जेलिनको हत्या र बालिकालाई मृत्यु हुने गरी खतरामा पारेको अपराध स्वीकार गरेकी थिइन् । उनी गत जुन ६ मा जेलिनलाई घरमा केही बोतल दुधका साथ एक्लै छाडेर विदा मनाउन डेट्रोइट र केटा साथीसँग घुम्न प्युर्टोरिको गएको जनाइएको छ ।

छिमेकीको डोरबेल क्यामेराले १६ महिनाकी बालिका बारम्बार चिच्याएको दृश्य कैद गरेको बताइएको छ, जसमा उनकी आमाले छाडेर गएको दुई दिन पछि बिहान १ बजेसमेत रोएको कैद भएको थियो । जुन १६ मा फर्कदा बालिका जेलिनलाई मृत फेला पारेपछि उनले पुलिसलाई खबर गरेको अधिकारीहरूले बताएका छन् ।

जेलिनको मृत्यु अत्याधिक भोक र तिर्खाका कारण भएको कुयाहोगा काउन्टी मेडिकल परीक्षकको कार्यालयले सोमबार अदालतमा जानकारी दिएको थियो । त्यसले घटनालाई हत्याका रुपमा लिइएको थियो । बच्चाको मृत्यु हुँदा बालिकाको तौल दुई महिना अगाडिको तुलनामा ७ पाउण्ड कम रहेको पाइएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update