Mero Chitwan
विनाभिसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्दा एक वर्षमा ८२४ नेपाली पक्राउ

न्युयोर्क-दलाललाई मोटो रकम बुझाएर विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्दा आर्थिक वर्ष २०२३ मा ८२४ नेपाली पक्राउ परेका छन् । उनीहरुलाई अध्यागमन हिरासतमा राखिएको छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट-आइसको तथ्यांक अनुसार उनीहरु अध्यागमन तथा सुरक्षा निकाय-सीबीपीले सीमाक्षेत्रमा पक्राउपछि आइसलाई स्थानान्तरण गरिएकाहरु हुन्। यो संख्या आर्थिक वर्ष २०२२ मा ९४१  र २०२१ मा ३७३  थियो ।

अमेरिकाबाट प्रकाशित हुने नेपाली अनलाइन खसोखासले जनाएअनुसार तीमध्ये सबैजना अहिलेसम्म अध्यागमन हिरासतमा भने छैनन् । उनीहरुमध्ये कतिपय अमेरिकामा छुटिसकेका छन् भने कतिपय नेपाल देशनिकाला भइसकेका छन् । केही अझै अध्यागमन हिरासतमा छन् ।

योबाहेक आर्थिक वर्ष २०२३ मा विभिन्न अपराध गरेका कारण आइसको हिरासतमा पर्ने नेपालीहरु थप ११ जना थिए । यो संख्या २०२२ मा २१ जना र २०२१ मा ११ जना थिए ।  उनीहरु आपराधिक अभियोग भएका व्यक्तिहरू, विचाराधीन आपराधिक आरोपहरू भएका व्यक्तिहरू वा कुनै अभियोग वा पेन्डिङ चार्ज नभएका तर अमेरिकी अध्यागमन कानुन तोडेकाहरु रहेको आइसले जनाएको छ ।

अध्यागमन हिरासतमा परेका ८३५ जना नेपालीमध्ये ५६ जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नै आफै पक्राउ गरेको थियो । त्यसमध्ये ११ जना अपराधको अभियोग लागेकाहरु थिए भने ४३ जना अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको आइसले जनाएको छ । २ जना अन्य अभियोग लागेकाहरु थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update