Mero Chitwan
किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ

काठमाडौँ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं- ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गत माघ २२ गते कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं- ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो ।

प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं। ३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि आफूले हत्या गरेको बताएका छन् ।

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोस्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।

एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ ।

हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् । अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब-कापीसमेत बरामद भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update