Mero Chitwan
भारतमा वैशाख ७ देखि लोकसभा निर्वाचन, सात चरणमा चुनाव हुने

नयाँदिल्ली—भारतमा आगामी १९ अप्रिल अर्थात् वैशाख ७  गतेदेखि सात चरणमा लोकसभा चुनाव हुने भएको छ । 

भारतको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावको मिति घोषणा गरेको हो । पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा, तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैटा्रं चरणको मतदान २५ मेका दिन हुनेछ ।
त्यस्तै, अन्तिम सातौं चरणको मतदान जुन–१ का दिन हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदान सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले जनाएका छन् । सबैतिरको मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटका लागि मतदान हुन लागेको हो । पहिलो चरणमा १ सय २, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैटौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ । हरेक मतदातालाई मतदान दिन सहजता हुने गरी मतदान केन्द्र र आवश्यक सहजीकरणको व्यवस्था गरिएको छ । ८५ वर्ष उमेरमाथि र ४० प्रतिशत शारीरिक अशक्त जो घरबाटै मतदान गर्न चाहन्छन् उनलाई त्यस अनुसारको सुविधा प्रदान गरिने मुख्य निर्वाचन आयुक्त कुमारले बताएका छन् ।

आगामी लोकसभा चुनावका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९ सय २६ मतदाता छन् । त्यसमध्ये ४९ करोड ७ लाख पुरुष र ४७ करोड १ लाख महिला मतदाता छन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update