Mero Chitwan
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या

झापा–झापाको गौरादह नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको छ । गौरादह नगरपालिका ७ का १७ वर्षीय धिरज विश्वकर्माले आफ्नै साथीहरुको सहयोगमा ८५ वर्षीय हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

धिरजले हजुरआमाले लगाएको गहना र वृद्धभत्ता हात पार्नका लागि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

घरपछाडि ग्वाली नजिकको मलखाडीमा पुरिएको अवस्थामा नरमायाको शव ५ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवरात्रिको दिनदेखि सम्पर्कविहीन रहेकी नरमायाको शव बुधवार फेला परेको हो । 

छोरा रमेश विकले बुधवार बिहान इलाका प्रहरी कार्यालय गौरीगन्जमा उजुरी दिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । केही घण्टामै घटनामा संलग्नको पहिचान गरेर अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार हत्याको अभियोगमा बुधवार साँझ मृतकका १७ वर्षीय नाती धिरज विश्वकर्मा र उसका साथीहरू टङ्क दर्नाल,राजु मल्लिक र बहादुर दर्जीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका छन् ।

शिवरात्रिको दिन लागुऔषध सेवन गरेर हजुर आमासँग पैसा मागेपछि दिन नमान्दा विवाद हुँदा रडले टाउकोमा हानेर वृद्ध हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको केसीले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update