Mero Chitwan
विश्वमा हतियार व्यापार तीब्र, ५ ठूला मुलुकले बेचे ८५ अर्ब डलरको हतियार

एजेन्सी–विश्वभर युद्ध र द्वन्द्व जारी रहँदा हतियारको व्यापार पनि तीब्र रुपमा वृद्धि भएको छ । 

अक्सफाम अमेरिकाको एक तथ्यांकअनुसार विश्वका ठूला ५ मुलुकहरु अमेरिका, रुस, फ्रान्स, चीन र जर्मनीले गत वर्ष ८५ अर्ब डलरको हतियार बेचेका छन् । जबकि दैनिक ९ हजार मानिसहरु द्वन्द्वबाट सिर्जित भोकमरीबाट मरिरहेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रहेका ५ मुलुकमध्ये ४ वटा नै विश्वका ठूला हतियार निर्यातक छन् । यस्तै, विश्वभरको सैन्य बजेट गत वर्ष २.२ खर्ब डलर पुगेको छ, जुन राष्ट्रसंघको सीमाभन्दा ४२ गुणा बढी हो । 

विश्वभर हतियारको व्यापारबारे अनुसन्धान गर्ने थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्रि) ले गरेको अध्ययनअनुसार हतियार खरिद गर्नेमा युरोपेली मुलुक अगाडि छन् । सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षको अवधिमा अघिल्लो पाँच वर्षको तुलनामा ९४ प्रतिशत बढी हतियार आयात भएको छ ।

दुई वर्षदेखि रुसविरुद्ध युद्ध लडिरहेको युक्रेन हतियारको सबैभन्दा ठूलो आयातकर्ता भएको छ । युरोपले गर्ने कुल हतियार आयातको २३ प्रतिशत युक्रेनले खरिद गरेको छ । पछिल्ला पाँच वर्षमा युक्रेन विश्वको चौथो ठूलो खरिदकर्ता बनेको छ।

सिप्रीका अनुसार सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि युक्रेनलाई कम्तीमा ३० देशले हतियार उपलब्ध गराएका छन् । युक्रेनलाई सबैभन्दा धेरै हतियार बेच्ने देशमा अमेरिका र जर्मनी शीर्ष स्थानमा छन् । अमेरिकाले ६९ प्रतिशत र जर्मनीले ३० प्रतिशत हतियार बेचेको छ । 

सन् २०१९ र २०२३ को बीचमा अमेरिकाले युरोपलाई ५५ प्रतिशत हतियार बेचेको छ, जुन सन् २०१४–१८ को तुलनामा ३५ प्रतिशत बढी हो। यसो हुनुमा अधिकांश युरोपेली देशहरू नाटोका सदस्य रहेको र अमेरिकाको एफ–३५ लडाकु विमानजस्ता हतियारको विकासमा सहयोगी रहेको सिप्रिका अनुसन्धानकर्ताको भनाइ छ । 

अमेरिकाबाट हतियार आयात बढ्नुको एउटा कारण युरोपेली देशहरूले आफ्नो नयाँ हतियार बनाउनुको सट्टा जतिसक्दो चाँडो अमेरिकी हतियार खरिद गरेर आफ्नो भण्डार बढाउने चाहना हो । 

विगतमा रुस विश्वकै ठूलो हतियार निर्यातक देश रहेकोमा अमेरिकाले उछिनेको छ । पछिल्लो पाँच वर्षमा अमेरिकाको हतियार निर्यात १७ प्रतिशतले बढेको छ भने अहिले विश्व बजारमा अमेरिकी हिस्सा ४२ प्रतिशत पुगेको छ । रुसलाई पछि पार्दै फ्रान्स दोस्रो स्थानमा पुगेको छ, जसको निर्यात ४७ प्रतिशतले बढेको छ । फ्रान्सले युरोपबाहिर राफेल लडाकु विमान बेच्न सफल भएको छ, जुन यसको सबैभन्दा ठूलो सफलता हो।

 पछिल्लो पाँच वर्षमा रुसको हतियार निर्यात ५३ प्रतिशतले घटेको छ । सन् २०२३ मा रुसले १२ देशमा मात्रै हतियार बेचेको थियो भने २०१९ मा यो संख्या ३१ थियो । 

चीन परम्परागत रूपमा रुसी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो तर अहिले स्थानीय उत्पादनलाई बढावा दिइरहेको छ। तर, अहिले पनि रुसको कुल हतियार निर्यातको २१ प्रतिशत चीनमा जान्छ। भारत पनि रुसको ठूलो खरिदकर्ता हो र उसले कुल हतियारको ३४ प्रतिशत खरिद गरेको छ।

गाजा युद्धको भूमिका
गत अक्टोबरमा गाजामा सुरु भएको युद्धले हतियार खरिदमा पनि ठूलो प्रभाव पारेको छ । सिप्रीका अनुसन्धानकर्ता जैन हुसेन भन्छन्–यो युद्ध सुरु भएपछि अमेरिकाले सहयोगको नाममा वा पुरानो खरिद सम्झौतालाई तीव्रता दिएर इजरायललाई ठूलो संख्यामा हतियार आपूर्ति गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update