Mero Chitwan
लघुकथा : गाउँसभा

सधैं बिदाबाहेकका दिनमा राख्ने गरिएका विगतमा गाउँले सभा कार्यक्रममा म छुट्ने गरेको थिएँ । यसपालि चौध गते शनिवार र पन्ध्र गते तामाङ ह्लाेसारले गर्दा दुई दिन विदा परेको हुनाले गाउँले सभाको कार्यक्रम शनिवार नै राखिएकाे थियाे । मलाई पनि त्यस सभाका आयोजकमध्येका एकले निमन्त्रणा गरेका थिए ।

यसपालि नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने भएकाले गाउँले सभाका सदस्यहरूलाई अनिवार्य निमन्त्रणा गरिएको थियो । गीत सङ्गीत,विचार विमर्शले  सभाको कार्यक्रम निकै रोचक बनेको थियो । विकास योजना युवा परिचालनजस्ता आकर्षण कार्यक्रमले हाम्रो गाउँमा दिशा रुपान्तरणतर्फ गतिशील हुँदै छ जस्तो लाग्थ्यो । पहिलो बन्द सत्र सकिएपछि उद्घोषकले नयाँ  बन्द सत्रको आह्वान गरेपछि कार्यक्रमा रौनकता थपिएको  थियो ।

मैले केही वर्षअघि गाउँले सभाकाे नयाँ कार्यसमितिमा बस्ने मानिसहरूको तछाडमछाड देखेको थिएँ । मेरो अपेक्षा पनि त्यही थियो तर त्यसो हुने छनक देखेको थिइनँ । बन्द सत्रका सभापतिले नयाँ  कार्यसमितिको नाम प्रस्तावमा ल्याएका थिए । अध्यक्ष,उपाध्यक्ष,सचिव कोषाध्यक्ष,सदस्य आदि आदि । 

'आदरणीय दाजुभाइ, दिदीबहिनीहरू आफूले नयाँ  पिँढीलाई पालो दिन कार्यसमितिको अध्यक्ष पदमा  नबस्ने कुरा जानकारी गराउँद छु,' प्रस्तावित नामको अध्यक्ष भन्दै  थिए ।

त्यस्तै अर्का उपाध्यक्षका प्रत्यासीको कुरा पनि यस्तै थियो,'मैले धेरै वर्ष समाज सेवा गरेको र अब काम कतै पनि नगरी बस्ने निर्णय गरेको छु ।'

त्यसैगरी अन्यका कुरा पनि यस्तै यस्तै थिए । अरु कसैको  नाम  स्वीकृत हुन नसकेपछि एकजना समाजसेवी बाले दु:ख मनाउ गर्दै भन्नुभयाे, 'खै के हुन लाग्यो; कोही पनि  नबस्ने पो भए त।' 

ती  बुढा बा मेरो नाम लिँदै भन्नुभयो, 'आजको गाउँले सभाका लागि एक पुराना शिक्षक रवि सरको नाम अध्यक्ष  पदको रूपमा लिन चाहन्छु ।' .

अरु कसैको नाम पास हुन नसकेपछि मैले गाउँ  सभाका अध्यक्षको नाम स्वीकार गरेँ ।   माटो  छोएर प्रण गरेँ र भनेँ 'यो गाउँको आस्था र सम्मानलाई डगमगाउन दिने छैन ।'  तालीको गडगडाहटले   हल थर्किरहेको थियो । पछि  थाहा  भो जोजाे मानिसहरू अघिल्लो पटक  गाउँ  सभामाको पदमा बस्न  नपाएको भनी सभा नै दुई  दिन  लम्ब्याउने  काम गरेका थिए । अहिले  जसले  गाउँ  सभामा  बस्न अस्वीकार  गरे, सबैको  भिसा अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिकाका लागि  लागिसकेको  थियो ।

 रत्ननगर-१४,चितवन

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update