Mero Chitwan
हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि  हेलिकप्टरबाट उद्घार गरिएको छ ।  

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको  प्रमुख  जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । हिउँमा फसेका  आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको  छ । पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो । उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update