काठमाडौं–महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा निलम्बित सांसद कोइरीसहित पवन कापरलाई पनि सफाइ दिएको हो । तर अदालतले प्रदेशसभा सदस्य अभिराम शर्मा, प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाएको महोत्तरी जिल्ला अदालतकी स्रेस्तेदार नूतन झाले बताइन् ।
कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनी मुद्दा २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा दर्ता भएको थियो । विकको हत्या मुद्दामा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर थुनामै छन् भने लक्ष्मी महतो कोइरी र मोहन ठाकुर तारेख गुजारेर फरार थिए ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको निर्घात कुटपिटबाट सख्त घाइते सशस्त्र प्रहरीका असई विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । हत्यालगत्तै उनकी पत्नी शोभा विकले किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो । शोभा विक पतिका हत्यारालाई कारबाहीको माग गर्दै न्यायको खोज्दै काठमाडौै आइपुगेकी छिन् ।