
चितवन : चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका शालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि भएको छ ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको प्रहरीले जनाएको छ। प्रहरीले यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवनलाई बुझाएको छ।
शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । एकता शिशु निकेतनको होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव भेटिएको थियो ।
प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाएकोमा उनको मृत्यु झुण्डिएका कारण भएको रिपोर्ट आइसकेको छ। शालिनको आज पश्पति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।